विराटनगर । नेपालको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेसँगै देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।
निर्वाचनको तयारी अघि बढ्दै जाँदा विभिन्न राजनीतिक दलभित्र उम्मेदवार सिफारिसको प्रक्रिया धमाधम भइरहेको छ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले आ–आफ्ना उम्मेदवारको सिफारिस गरिसकेका छन् भने नेकपा एमाले पनि उम्मेदवार छनोटमा व्यस्त देखिएको छ।
देशभरका निर्वाचन क्षेत्रहरूमा उम्मेदवार बन्ने इच्छुक नेताहरूको सक्रियता बढेसँगै गाउँ–घरका चिया चौतारीदेखि सामाजिक सञ्जालसम्म चुनावी बहस तातेको छ।
छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा नेकपा एमालेले माघ २० गते उम्मेदवारको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा धेरैजसो पुराना र चिनिएका अनुहार देखिए पनि केही नयाँ नाम र अनुहारले समेत स्थान पाएका छन्। कुन क्षेत्रबाट कुन पार्टीले कसलाई उम्मेदवार सिफारिस गर्यो र अन्ततः कसले टिकट पाउने भन्ने विषयले स्थानीयस्तरमा चासो बढाएको छ।
मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेले तीन जना उम्मेदवार सिफारिस गरेको छ। सिफारिस हुनेमा निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल (बगडिया) र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझा रहेका छन्। यीमध्ये पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेका उम्मेदवार दिलीप बगडिया हुन्।
बगडिया २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर रंगेली नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनअघि पार्टी परिवर्तन गरी नेकपा एमाले प्रवेश गरेका उनले सो निर्वाचनमा पनि सानदार जित हासिल गरे।
मङ्सिर २७ र २८ गते सम्पन्न एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै बगडिया केन्द्रस्तरको राजनीतिमा सक्रिय देखिएका छन्।
संविधानको अनुच्छेद २१५ (७) र २१६ (७) अनुसार स्थानीय तहका प्रमुख तथा उपप्रमुखले दुई कार्यकालभन्दा बढी सोही पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ। आफ्नो कार्यकालको करिब १६ महिना अवधि बाँकी रहँदै बगडियाले प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारी गरेको नजिकका स्रोतले जनाएको छ।
रंगेली नगरपालिकामा निर्वाचित भएपछि नगरको स्वरूप परिवर्तन गर्दै काम गर्ने शैलीका कारण बगडिया चर्चामा आएका छन्। उनको कार्यशैलीको स्थानीयस्तरमा व्यापक प्रशंसा हुने गरेको छ। यता, लामो समयदेखि यस क्षेत्रलाई राजनीतिक किल्ला बनाउँदै आएका निवर्तमान सांसद ऋषिकेश पोखरेल पछिल्लो समय विभिन्न समाचार र विवादमा परेपछि कमजोर बनेको विश्लेषकहरू बताउँछन्।
सोही अवस्थाको फाइदा बगडियाले लिन सक्ने जानकारहरूको भनाइ छ। एउटै पार्टीभित्र रहेका दुवै नेताबीच टिकटका लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ।
क्षेत्रवासीहरूका अनुसार मोरङ–२ ले अब पुराना अनुहारभन्दा नयाँ र काम गरेर आफूलाई प्रमाणित गरिसकेका उम्मेदवार खोजिरहेको छ। यस आधारमा बगडियाको सम्भावना बलियो देखिएको एमालेका केन्द्रीय नेताहरूको दाबी छ। ‘हाम्रो विराटनगर’सँगको कुराकानीमा एमालेका एक नेताले दिलीप अग्रवाल (बगडिया) ले सो क्षेत्रको टिकट शतप्रतिशत पाउने दाबीसमेत गरे।
संघीयता कार्यान्वयनपछि मोरङ–२ बाट एक पटक नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने २०७९ सालको निर्वाचनमा एमालेले जित निकालेको थियो। प्रभावका हिसाबले नेपाली कांग्रेसको गढ मानिँदै आएको यस क्षेत्रमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अन्य दलले फाइदा लिँदै आएका छन् भन्ने विश्लेषण कांग्रेसकै नेताहरू गर्छन्।
नेपाली कांग्रेसबाट यस क्षेत्रका लागि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले टिकट पाउने सम्भावना बढी देखिएको छ भने एमालेबाट दिलीप बगडियाको सम्भावना बलियो रहेको आँकलन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट गत निर्वाचनमा प्रतिस्पर्धा गरेका ठगेन्द्र न्यौपानेले यस पटक पनि टिकट पाउने सम्भावना रहे पनि संगठन कमजोर भएकाले मोरङ–२ मा यसपटक पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हुने अनुमान गरिएको छ ।
