फायल फोटो
काठमाडौं । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन निर्धारित समयमै हुन नसक्ने भएपछि पार्टीभित्र विशेष महाधिवेशनको तयारी तीव्र बनेको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर समूह अब नियमित महाधिवेशनको प्रतीक्षाभन्दा विशेष महाधिवेशनतर्फ केन्द्रित भएको हो ।
विशेष महाधिवेशन पक्षधर समूहले यसका लागि दुई रणनीतिक विकल्प अघि सारेको छ । पहिलो विकल्पअनुसार केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने माग गरिएको छ । यसका लागि सभापति शेरबहादुर देउवालाई आन्तरिक छलफल र निर्णयका लागि समय दिइएको जनाइएको छ । समूहले १९ पुस बिहानसम्म सभापतिको निर्णय पर्खिने रणनीति बनाएको छ ।
यदि केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान नगरे दोस्रो विकल्पअनुसार पार्टी केन्द्रको तर्फबाट महामन्त्रीद्वयले नै विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको छ । यसका लागि समानान्तर रूपमा भृकुटीमण्डप बुकिङ, विभिन्न समिति तथा उपसमिति गठन, डकुमेन्टेसनलगायतका प्राविधिक तयारी अघि बढाइएको छ ।
१६ पुसका लागि तय गरिएको वडा अधिवेशन हुन नसकेपछि विधानअनुसार विशेष महाधिवेशनमा जानुपर्ने अवस्था सिर्जना भएको पक्षधर नेताहरूको दाबी छ । गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीका अनुसार नियमित अधिवेशन हुन नसक्दा विशेष महाधिवेशनको माग थप वैधानिक र प्रभावकारी बनेको हो ।
विशेष महाधिवेशनमा १४औँ महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरूलाई सहभागी गराइने तयारी रहेको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । विशेष महाधिवेशनको मिति पुस २७–२८ का लागि तय गर्ने तयारी भइरहेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विषय दुई दिनभित्र टुंगो लाग्ने बताउँदै नियमित महाधिवेशन नहुनु विशेष महाधिवेशनको ढोका खुल्नु सरह भएको टिप्पणी गरे ।
यद्यपि, संस्थापन पक्ष भने विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा देखिएको छैन । सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान नगर्ने स्पष्ट पारेका छन् ।
कांग्रेस विधानअनुसार विशेष महाधिवेशनको माग गरिएको मितिले तीन महिनाभित्र आह्वान गर्नुपर्ने व्यवस्था छ, जसको समयसीमा २८ पुसमा सकिँदै छ । कतिपयले भने विशेष महाधिवेन भए पार्टी फुट्ने समेत तर्क गर्दै आएका छन् ।
कांग्रेस नेता प्रदीप पाैडेलले वैधानिक व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियामा जाँदा पार्टी नफुट्कने बताएका छन् ।
विधानको पालना गर्नु नेतृत्व र कार्यसमितिको कर्तव्य भएकाे र नेतृत्वले प्रस्तावकहरूलाई ‘चुनाव नजिक छ, प्रस्ताव फिर्ता लिनुहोस्, यसको विकल्प यस्तो हुन्छ’ भनेर कुनै मध्यमार्गी बाटो दिन सकेको भए यो निष्क्रिय हुन सक्ने उनले बताए ।
तर, विधानलाई नै वास्ता नगर्ने ढंगले बुझिँदा समस्या आएको भएको र विधान कार्यान्वयनले त पार्टीलाई वैधता दिने तर विभाजन नगर्ने उनले दाबी गरे ।
महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशन सम्बन्धी वैधानिक दायित्व स्मरण गराउँदै भनेका छन्, “५४ प्रतिशत महाविधेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रुपमा विशेष महाधिवेशन नै अघि आएको छ ।”
त्यसैले पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको हुँदा उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरु सम्भव भएसम्म सर्वसम्मतिले अघि बढाइने पनि उल्लेख छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हल विशेष महाधिवेशनका लागि बुकिङ भएकै दिनमा महामन्त्रीद्वयले जारी गरेको यस सूचनाले कांग्रेसभित्र तरंग सिर्जना भएको छ ।
कांग्रेसमा यसअघि नै २४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराएका छन् । र, नियमित रुपमा दबाब पनि सिर्जना गर्दै आएका छन् ।
