काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको क्रममा अध्यक्ष केपी शर्मा ओलीको समूहमा असन्तुष्टि देखिएको छ ।
पदाधिकारीमा उम्मेदवार नपरेपछि चार नेताले ओलीको साथ छाडेका छन् ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा पदाधिकारीमा समेटिन नसकेपछि ओलीबाट अलग भएका हुन् । यसैगरी प्रदीप ज्ञवाली, अग्नि खरेल र राजेन्द्र गौतम पनि ओलीसँग असन्तुष्ट बनेका छन् ।
नेता प्रदीप ज्ञवालीलाई ओलीले उपाध्यक्षको उम्मेदवारको सूचीमा राखे पनि उनले महासचिवबाहेक अन्य पद स्वीकार नगर्ने अडान लिएका छन् । रघुजी पन्तलाई केन्द्रीय समितिमा मात्र समेटिएपछि उनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
ओली समूहबाट सचिवमा उम्मेदवारी दिन चाहेका प्रचार विभाग प्रमुख गौतमले टिकट नपाएपछि स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष ओलीका निकट मानिएका कृष्णगोपाल श्रेष्ठले आफूलाई अपमान र अन्याय भएको भन्दै पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् । गोकुल बास्कोटा पनि पोखरेल समूहबाट सचिवका उम्मेदवार बनेका छन् । लालबाबु पण्डित समेत ओलीसँग असन्तुष्ट छन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।
