विराटनगर। ‘द काउन्सिल अफ जेनजी मोरङ’ले भदौ २४ गतेको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई बिना कारबाही तत्काल रिहा गर्न सरकारलाई आग्रह गरेको छ।
आइतबार काउन्सिलका मोरङ संयोजक राम खत्रीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापनपत्र बुझाउँदै यस विषयमा औपचारिक ध्यानाकर्षण गराए।
ज्ञापनपत्रमा जघन्य अपराधबाहेक अन्य आरोपमा पक्राउ परेकामाथि कुनै मुद्दा नलगाई रिहा गर्न तथा दर्ता भएका मुद्दा फिर्ता लिन सरकारलाई अनुरोध गरिएको छ। खत्रीका अनुसार आन्दोलनलाई संस्थागत गर्ने प्रक्रियालाई सहज बनाउन २४ घण्टाभित्र माग सम्बोधन गर्न आग्रह गरिएको छ।
काउन्सिलले तोकिएको समयसीमा भित्र माग पूरा नभए संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्दै अहिंसात्मक अनशन तथा भोकहड्ताल सुरु गर्न बाध्य हुने चेतावनी पनि दिएको छ। सोबाट उत्पन्न सम्भावित परिस्थितिको जिम्मेवारी सरकारकै हुने काउन्सिलले स्पष्ट पारेको छ।
संगठनले नागरिकको भावना र मागलाई सरकारद्वारा शीघ्र, पारदर्शी र विश्वासयोग्य ढंगले सम्बोधन गरिने अपेक्षा व्यक्त गरेको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

