Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीमा बाढीले भत्काएका सबै घर प्रदेश सरकारले पुनर्निर्माण गरिदिने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | अपराह्न ३:०४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । हालैको बाढी र पहिरोले क्षति पुर्‍याएका कोशी प्रदेशका सबै घरहरू प्रदेश सरकारले पुनर्निर्माण गर्ने निर्णय गरेको छ। बुधबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यो निर्णय गरेको हो।

सबैभन्दा बढी प्रभावित इलाम, झापा र मोरङ जिल्लामा तत्काल पुनर्निर्माण कार्य सुरु गरिनेछ। साथै, घरहरूको विवरण संकलन गर्दै निर्माण कार्य सँगसँगै अघि बढाइने बैठकले जनाएको छ।

इलाम जिल्लाका सात पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गरिनेछ। त्यहाँ राहत तथा पुनर्स्थापनाको काम समन्वय गर्न तीनजना मन्त्रीहरू — आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिइएको छ। उक्त टोलीले प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै फिल्डमै खटेर पुनर्निर्माण कार्यमा तीव्रता दिनेछ।

सुनसरी जिल्लाको पुनर्निर्माण समन्वयको जिम्मा वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीलाई दिइएको छ। झापा जिल्लामा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई समन्वय र पुनर्निर्माणको कार्यभार दिइएको छ।

बैठकले चालु आर्थिक वर्षका खर्च तथा योजनाहरू पुनरावलोकन गरी आवश्यक कटौती गरेर पुनर्निर्माणमा खर्च गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई सडक तथा यातायात पुनः सञ्चालन गर्न सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री कार्कीले राहत र पुनर्निर्माणमा कुनै कसर नराखी काम अघि बढाउन निर्देशन दिनुभएको छ। साथै, विपद्को बेला सबै नागरिक, उद्योगी, राजनीतिक दल, अधिकारकर्मी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।

विपद् महाशाखा प्रमुख कमल थापाका अनुसार, राहत र पुनःस्थापनामा एकढिक्का भएर काम गर्ने निर्णय आजको बैठकले गरेको हो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka