Premier Cables
Premier Steel

मौसम

मौसमविद्को पूर्वानुमान, दशैंमा ‘भीषण’ पानी पर्ने सम्भावना धेरै

Calendar मंगलबार, असोज १४, २०८२  | बिहान ११:०७ बजे

काठमाडौं । मौसमविद्ले अब ‘भारी’ वर्षाको सम्भावना औँल्याएका छन् ।

पोहर साल असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।

बिज्ञापन

“फोरकास्ट (पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ,” उनले मंगलबार (असोज १४) बिहान फेसबुकमा लेखेका छन्, “तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।”

उनले देशमा यही अक्टोबर ३ देखि ७ (असोज १७–२१)सम्म भारी वर्षा हुन सक्ने जनाएका छन् । हाल तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनले स्पष्ट पारेका छन् । उनले यसअघि पनि यस्तो सम्भावना औँल्याएका थिए ।

“भोलि (असोज १५)देखि वर्षा हल्का/मध्यम हुँदै बिहीबार (असोज १६) रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ,” उनले लेखेका छन् ।

उनले बडादसैँको टीकापछि यात्रा गर्दा विशेष ध्यान दिन सचेत गराएका छन् । भारी वर्षा तीन–चार दिनसम्म हुने देखिएको उनले जनाएका छन् । हिले दसैँ हुने उनको भनाइ छ ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि दसैँ टीकाको भोलिपल्ट (असोज १७)देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको जनाएका छन् ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशमा ठूलो पानी परेको थियो । कतिपय स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको थियो । काठमाडौंसहित धेरै स्थानमा बाढीपहिरोबाट ठूलो क्षति भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka