






काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १११.७० अंकले बढेर २ हजार ६२३.६२ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३७ प्रतिशतले बढेर ४५५.२८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको २ करोड ३२ हजार २२४ कित्ता सेयर ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘आज बजारमा रिटेलहरुको सेयर खोस्ने काम भएको छ । चाडपर्वका लागि जोहो गर्नका लागि समेत केहीले सेयर बिक्री गरे । आन्दोलनका कारण घटेको बजारमा आज सुधार देखिएको छ । बजारमा करेक्सन फेज सकियो भन्नका लागि भने अझै केही समय पर्खनुपर्ने देखिन्छ ।’
अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले लगातार घटिहरहेको बजारमा आज बाउन्स ब्याक देखिएको बताए । ‘आज अल्पकालका लागि भन्दापनि मध्य र दीर्घकालका लागि संस्थापक लगानीकर्ताले सेयर खरिद गरेका देखिन्छ । दशैं तिहारसम्म बजार सामान्य गतिमा अघि बढ्ने देखिन्छ ।’
चाडपर्व पछि भने राजनीतिक स्थिरताको प्रष्ट दिशा तय भएपछि बजारमा थप सुधार देखिने उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ८.३३ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ समूह ४.७६ प्रतिशत, विकास बैंक ६.३४ प्रतिशत, फाइनान्स ६, होटल २.५५,हाईड्रो ५.९८, लगानी ७.७७, जीवन बीमा ५.९३, उत्पादन तथा प्रशोधन ४.८६, लघुवित्त समूह ४.०७ र अन्य समूह १.४६ प्रतिशतले घट्यो ।