






विराटनगर । हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर । सामाजिक सञ्जालमा विभिन्न विषयमा पोस्ट गरिरहन्छन् । कतिले आलोचना गर्ने गर्दछन्, कतिलेचाँहि सपोर्ट गर्छन ।
तिनै हर्क साम्पाङको कार्यालयको ढोका सर्वसाधारणको लागि सँधै खुला हुन्छ । उनलाई भेट्न चाहनेलाई कुनै रोकटोक छैन् । साधारण सोफासेट र सिसाका टेबुल उनको कार्यकक्षमा देख्न सकिन्छ ।
अरु मेयर वा उपमेयरको जस्तो उनको कार्यकक्ष विशेष छैन ।
साम्पाङको कार्यकक्षमा राष्ट्रपति वा प्रधानमन्त्रीको फोटो झुन्ड्याइएको छैन । बरु नेपाललाई चिनाउने र पहिचान झल्काउने प्रशस्तै तस्बिरहरु देख्न सकिन्छ ।
साम्पाङको कुर्सीको ठिक पछिल्तिर एउटा बेल्चा राखिएको छ । त्यो बेल्चालाई खादा ओढाइएको छ । धरानमा श्रमसंस्कृति शुरु गरेका साम्पाङले गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल भएका छन् । उनले भने,‘‘श्रम नगरी देश बनाउन सकिदैन ।’’ उनले धेरैलाई ढुंगा बोकाएको भनेर हसिँमजाक समेत हुने गरेको छ ।
साम्पाङले आफ्नो कार्यकक्षमा किराँत राजा यलम्बरको फोटो राखेका छन् । उनको ठिक अघिल्लोपट्टि गौतम बुद्धको फोटो देखिन्छ ।
त्यसको ठिक उत्तरतिर किसानले हलो जोत्दै गरेको फोटो देखिन्छ । त्यसमा लेखिएको छ– जय किसान, जय देश, जय मातृभूमि
साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराखेको भनि धेरैले आलोचना गरेका थिए । तर, साम्पाङ जनस्तरमा भने निकै लोकप्रिय छन् । खासमा उनले धरानमा निर्माण गरेको पार्क र खानेपानी समस्या समाधानका लागि गरेको कामको प्रशंसा हुने गरेको छ ।