






नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज ३ गते मनाइने संविधान दिवसलाई भव्य रूपमा सम्पन्न गर्न तयारी थालेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको हो।
बैठकमा सबै मन्त्रीहरू, सचिवहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकले ५०१ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ।
संविधान दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभातफेरी, झाँकी प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिनेछ। यी कार्यक्रमहरू प्रदेश सरकारका सेवाहरू प्रस्तुत हुने गरी सबै जिल्लामा सञ्चालन गरिनेछन्।
मुख्यमन्त्री कार्कीले प्रदेशका सबै संघसंस्थालाई संविधान दिवस भव्य रूपमा मनाउन आह्वान गर्दै प्रदेशका मौलिकता झल्किने झाँकी र जातजातिको विशेषता झल्काउने प्रदर्शनीहरू गर्न निर्देशन दिएका छन्।
कार्यक्रमहरू आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सञ्चालन हुने जनाइएको छ।