






विराटनगर । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीचको जुहारी थप चर्किएको छ। उपमहासचिव शर्माले सार्वजनिक मञ्चहरूबाट अध्यक्षमाथि आलोचना गर्दै आएका थिए भने अब अध्यक्ष प्रचण्डले पनि खुल्लामुख सार्वजनिक टिप्पणी गर्दै उनीमाथि प्रहार गरेका छन्।
कोशी प्रदेश कमिटीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका प्रचण्डले बुधबार विमानस्थलमा पत्रकारहरूसँग बोल्दै भने, “एक जना प्रभाकरले मलाई नपत्याएर पार्टीको आन्दोलन वा इतिहास रोकिन्न। स्थायी समितिले यो स्पष्ट गरिसकेको छ।”
पत्रकारले आफ्नै नेताले विश्वास नगरेको प्रश्न उठाउँदा प्रचण्डले विवाद चर्काउने शैलीमा प्रश्न नगर्न आग्रह गरे र थपे, “पदाधिकारी बैठकमा उहाँले के भन्नुभयो भन्नेबारे पनि छलफल हुनेछ।”
प्रचण्डले पुनः एकपटक पार्टीभित्र “स्वार्थ समूह” सक्रिय रहेको आरोप दोहोर्याए। उनले जनार्दनप्रति संकेत गर्दै भने, “पार्टीको नीति, विधि र नेतृत्वभन्दा बाहिर रहेर व्यक्तिगत स्वार्थमा केन्द्रित भएर गतिविधि गर्नेहरू स्वार्थ समूह हुन्।”
यो प्रचण्ड–जनार्दन खटपटले माओवादी केन्द्रभित्र गहिरो मतभेद र गुटगत ध्रुवीकरण भएको स्पष्ट देखिएको छ। शर्माले पछिल्लो समय प्रचण्डको नेतृत्व र निर्णयशक्तिमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्।
अर्को प्रसंगमा लिपुलेक विवादबारे प्रचण्डले सरकारको भावी कदम प्रतीक्षा गर्नुपर्ने बताए। उनले भारत र चीन भ्रमणका क्रममा पनि सीमा विवाद उठाएको दाबी गर्दै भने, “अब के हुन्छ भन्ने कुरा सरकारले हेर्नुपर्ने हो।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनः सक्रियता बारे पनि प्रचण्डले स्पष्ट धारणा राखे। उनले संविधानले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन रोक्न नखोजेको उल्लेख गर्दै भने, “विश्वभरकै अभ्यासमा पूर्वराष्ट्रपति, प्रधानमन्त्री वा मेयरहरू पुनः राजनीतिमा फर्किएका छन्।”
उनले भण्डारीको सदस्यता नवीकरण प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भएको दाबी गर्दै, “उहाँ राजनीतिमा फर्कन चाहनुहुन्छ भन्ने कुरा अब छर्लङ्ग भइसकेको छ,” भने।