Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

कोशी अस्पतालमा निःसन्तान क्लिनिक, बिमाबाट सेवा लिन सकिने

Calendar सोमबार, भाद्र ०९, २०८२  | अपराह्न १:५५ बजे

विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ ।

दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो ।

बिज्ञापन

उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आय भएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताए ।

‘निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दाम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियौं’, उनले भने, ‘अझै पनि धेरैलाई निःसन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पयाप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका छैनन् ।’

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिकमा सेवा दिइरहेका छन् । परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ ।

निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेवको भनाइ छ ।

उनी भन्छन्, ‘हामीले आइयूआई सेवाको शुल्क करिब रु ६ हजार तोकेको छौं । जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढी पर्छ । शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठूलो राहत दिएको छ ।’

बिमाबाट सेवा लिन सकिने

अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि राहतदायी बन्ने भएको छ । अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् ।

प्रमुख डा अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ । ‘कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,’ उनले भने, ‘हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ।’

उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंल्याउँदै, बिमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताए । यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka