






पटना । नमो भारत र्यापिड रेल, जसलाई वन्दे मेट्रो पनि भनिन्छ, छोटो दूरीको अन्तर-सहर रेल सेवा हो जसले करिब १०० देखि २५० किलोमिटरको दूरीमा रहेका प्रमुख शहरहरूलाई आपसमा जोड्ने उद्देश्य राख्दछ। भारत सरकारको ‘मेक इन इन्डिया’ अभियानअन्तर्गत तयार गरिएको हो।
यस रेलको पहिलो चार डब्बा युनिट २०२४ को अप्रिल महिनामा रेल कोच फैक्ट्री, कपूरथलाबाट सार्वजनिक गरिएको थियो। यो सेवा सेप्टेम्बर २०२४ बाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
वन्दे भारत एक्सप्रेस जस्तै यो पनि स्वचालित ट्रेनसेट हो । यसले यात्राको गति र सुविधा दुवैमा सुधार ल्याउने लक्ष्य राखेको छ। यस ट्रेनलाई पहिलो पटक एप्रिल २०२३ मा तत्कालीन रेलमन्त्री अश्विनी वैष्णवले वन्दे भारतको छोटो दूरी संस्करणका रूपमा घोषणा गरेका थिए। यो सेवा मुख्य रूपमा क्षेत्रीय, उप-सहर तथा ठूला शहरी केन्द्रहरू जोड्न लक्षित गरिएको हो।
ट्रेनका सेटहरू अन्तिम चरणमा पुगेपछि जुलाई २०२४ मा विभिन्न शहरहरूमा परीक्षणका लागि तयारी गरिएको थियो। ३ अगस्ट २०२४ मा चेन्नईको विलिवक्कम रेलवे स्टेशनबाट कट्पाडी जंक्शनसम्म सफल परीक्षण यात्रा सम्पन्न भयो। त्यसपछि ८ सेप्टेम्बर २०२४ मा अर्को परीक्षण अहमदाबाददेखि भुजसम्म सञ्चालन गरिएको थियो जसमा रेलले ५ घण्टामा दूरी पार गर्यो, जुन अन्य सञ्चालनमा रहेका रेलहरूसँग तुलना गर्दा डेढ घण्टा कम थियो। परीक्षणका क्रममा यसले ११० किलोमिटर प्रतिघण्टासम्मको गति हासिल गर्यो।
१६ सेप्टेम्बर २०२४ मा अहमदाबाद-भुज मार्गमा व्यावसायिक सेवा सुरु भयो। यो रेलमा १२ डब्बा छन् र यसले ३५९ किलोमिटरको दूरी झण्डै ५ घण्टा ४० मिनेटमा तय गर्दछ। यसको अधिकतम गति ११० किलोमिटर प्रतिघण्टा र औसत गति ६३ किलोमिटर प्रतिघण्टा छ।
नमो भारत र्यापिड रेलले पारम्परिक रेलहरूलाई विस्थापन गर्ने उद्देश्य राखेको छ। यसको अधिकतम सञ्चालन गति १३० किलोमिटर प्रतिघण्टा छ, जुन हालका भन्दा तीव्र हो। यसले यात्रा समयमा महत्वपूर्ण कमी ल्याउने अपेक्षा गरिएको छ।
प्रत्येक डब्बामा १०० जना बस्न मिल्ने कुसनयुक्त सिट र २०० जना उभिएर यात्रा गर्न मिल्ने ठाउँ छ। रेल पूरै वातानुकूलित छ र यसमा एलुमिनियम सामान राख्ने र्याक,एलसीडी डिस्प्ले, स्वचालित ढोका, मोबाइल चार्जिङ पोर्ट, सौम्य बत्ती, प्यानोरामिक झ्यालहरू र रोलर ब्लाइन्ड छन्।
सुरक्षाका लागि यसमा एण्टी–कोलिजन प्रणाली, सिसीटिभी क्यामेरा, आपतकालीन संवाद प्रणाली, आगलागी पहिचान प्रणाली र आधुनिक बायो-भ्याकुम शौचालय जडान गरिएको छ। सुरुमा ट्रेनसेटहरू १२ देखि १६ डब्बासम्म हुनेछन्, यात्रु संख्याको माग अनुसार बढाउने भारत सरकारको तयारी छ ।
कहिले आउँछ जोगबनी ?
नमो भारत र्यापिड रेल सेवा अब मधुबनीको जयनगरदेखि पटनासम्म सञ्चालनमा आउन लागेको छ। यस मार्गमा दरभंगा, समस्तीपुर, बरौनी र मोकामा जस्ता प्रमुख शहरहरू हुँदै रेल चल्ने शुरु भएको छ । जसले उत्तर बिहारमा यात्रुहरूको सुविधा अझ बढी बढाउने अपेक्षा गरिएको छ।
सेवा २५ अप्रिलदेखि सुरु भएको हो । तर, नियमित रुपमा रेल नम्बर ९४८०३ र ९४८०४ हप्तामा छ दिन पटनाबाट शनिबार र जयनगरबाट (आइतबार बाहेक) सञ्चालन भई रहेको जनाइएको छ । तर, यो रेल तत्कालै कटिहार हुँदै जोगबनीसम्म आउने सम्भावना भने छैन ।
९४८०३ जयनगर–पटना नमो भारत र्यापिड रेल बिहान ५ बजे जयनगरबाट छुट्छ र मधुबनी, सक्री, दरभंगा, समस्तीपुर,बरौनी, मोकामा र बड़ मा रोकिन्छ, र पटना जंक्शनमा बिहान १०ः३० बजे पुग्छ । यो उच्चगति मार्गको परिचालनलाई सहज बनाउन, यस क्षेत्रका धेरैजसो विद्यमान रेलहरूको आगमन र प्रस्थान समयहरूमा परिवर्तन गरिएको जनाइएको छ।