Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

सुन्दरहरैंचा नगरपालिकाले गर्यो १२ उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २९, २०८२  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाले पारिवारिक समर्पण र सामाजिक सद्भावलाई प्रोत्साहित गर्ने उद्देश्यले १२ उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको छ।

नगरपालिकाका १२ वटै वडाबाट एक-एक दम्पती छनोट गरी आइतबार एक समारोहबीच सम्मान गरिएको हो। उनीहरूलाई नगद दश हजार र प्रमाणपत्र प्रदान गरियो ।

बिज्ञापन

नगरपालिकाले यो कार्यक्रम पारिवारिक समझदारी, आपसी मेलमिलाप तथा पारिवारिक मूल्य र परम्पराको संरक्षणमा उदाहरणीय योगदान पुर्‍याउने दम्पतीलाई प्रेरणा दिने उद्देश्यले आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि मेयर केदारप्रसाद गुरागाईंका अनुसार संयुक्त परिवारमा रहेर आमा-बुवा वा सासू-ससुराको श्रद्धायुक्त सेवा र हेरचाहमा समर्पित दम्पतीहरुलाई छनोट गरिएको हो।

छनोटका लागि नगरपालिकाले विभिन्न सामाजिक र पारिवारिक मूल्यांकन संकेतक तय गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले दीर्घकालीन वैवाहिक जीवन, समाजमा योगदान र आपसी सम्बन्धलाई प्राथमिक आधार मानेर उत्कृष्ट जोडी चयन गरिएको जानकारी दिए।

यसका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक दम्पतीलाई आवेदन दिन आह्वान गरेको थियो। कुल ४८ आवेदन परेका थिए।

उपमेयर अकली चौधरीका अनुसार कार्यक्रमको उद्देश्य पारिवारिक समझदारी र प्रेमको आदर्श प्रस्तुत गर्ने दम्पतीलाई सम्मानित गर्दै समाजमा सकारात्मक सन्देश फैलाउनु हो। उनले भनिन्, “यो कार्यक्रम समाजमा मेलमिलापयुक्त र जिम्मेवार पारिवारिक जीवनशैलीको उदाहरण दिनका लागि हो।”

सम्मानित दम्पतीहरूको सूची:

केशवराज काफ्ले र कञ्चन दाहाल (वडा १)

सचिदानन्द साह र सन्ती कुमारी गुप्ता (वडा २)

ध्रुव नीरौला र अनु दाहाल (वडा ३)

डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल (वडा ४)

वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल (वडा ५)

बालकृष्ण घिमिरे र शकुन्तला गौतम (वडा ६)

बलिराम चौधरी र फूलोदेवी चौधरी (वडा ७)

खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने (वडा ८)

योगराज कार्की र हिमकुमारी कार्की (वडा ९)

बौद्ध बहादुर दाहाल र कल्याणी खड्का (वडा १०)

वेदकुमार खवास र केसओती खवास (वडा ११)

अमरबहादुर मगर र ताराकुमारी मगर (वडा १२)

उनीहरूलाई प्रतीक चिन्ह, प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो। सम्मानित योगराज कार्कीले खुशी व्यक्त गर्दै भने, “हामीजस्ता दम्पतीलाई सम्मान दिँदा अरूलाई पनि प्रेरणा मिल्छ। यो समाजमा आदर्श सिर्जना गर्ने अभियान हो।”

छनोटका मापदण्डहरू:

वैवाहिक सम्बन्ध कम्तीमा १० वर्ष पुगेको हुनुपर्ने

दुवैजनाको नेपाली नागरिकता र विवाह दर्ता भएको

स्थायी रूपमा सुन्दरहरैंचामा बसोबास

संयुक्त परिवारमा आमा/बुवा वा सासू/ससुरासँग बसेको

सन्तान जन्मिएको भए नागरिकता र जन्मदर्ता गरिएको

विद्यालय उमेर पुगेका सन्तान विद्यालयमा भर्ना गरिएको

विदेशमा दुई वर्षभन्दा बढी समय नरहेको

अदालत वा प्रहरीमा वैवाहिक झगडाको उजुरी नदिएको

यी सम्पूर्ण मापदण्ड पूरा गरेका दम्पतीहरूमध्येबाट उत्कृष्ट १२ जोडी छानिएको थियो। नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka