Premier Cables
Premier Steel

समाचार

मोरङमा सार्वजनिक शौचालयमै पुस्तकालयदेखि कफी शपसम्म

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकामा निर्माण गरिएका आधुनिक सार्वजनिक शौचालयहरूले परम्परागत सोचलाई चुनौती दिएका छन्। विराटचोकबाट करिब पाँच सय मिटर पश्चिम–दक्षिणतर्फ रहेको दुईतले आकर्षक भवनमा सार्वजनिक शौचालयसँगै इन्टरनेट, स्नान सुविधा, पुस्तकालय, कफी शप, सैलुन र फेन्सी पसल सञ्चालनमा छन्।

महेन्द्र राजमार्गसँगै जोडिएको यस संरचनाले सार्वजनिक शौचालय भनेपछि आउने फोहोर र अव्यवस्थित छविलाई परिवर्तन गरेको छ। यहाँका शौचालय सफा, सुगन्धित र व्यवस्थित छन्।

बिज्ञापन

सलकपुर चोकमा रहेको अर्को यस्तै संरचना बाहिरबाट सानो व्यावसायिक कम्प्लेक्सजस्तो देखिए पनि भित्र प्रवेश गर्दा आधुनिक र सफा सार्वजनिक शौचालय भेटिन्छ। यहाँ महिला, पुरुष तथा फरक क्षमता भएका व्यक्तिका लागि छुट्टाछुट्टै शौचालय, नुहाउने सुविधा, आराम गर्ने स्थान र महिनावारीका लागि सिनेटरी प्याड उपलब्ध छन्। सिक्का हालेर प्याड लिन सकिने व्यवस्था गरिएको छ भने मोबाइल र ल्यापटप चार्ज गर्ने सुविधा पनि राखिएको छ।

यस्ता संरचनामा रहेको खुला पुस्तकालयमा सुकुना बहुमुखी क्याम्पस र विद्यालयका विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्। पुस्तकालयमा विभिन्न विधाका सयभन्दा बढी पुस्तक तथा अध्ययनका लागि टेबल–कुर्सीको व्यवस्था गरिएको छ, जसले युवामा पढ्ने बानी विकास गर्ने अपेक्षा गरिएको छ।

सुन्दरहरैचा नगरपालिकाले ‘शौचालयसँगै ज्ञान’ जोड्ने अवधारणालाई प्राथमिकताका साथ अघि बढाएको छ। विराटचोक र सलकपुरमा सञ्चालनमा आएका यस्ता संरचनाहरू अब बलिया, गछिया, गोठगाउँ, खोर्साने र मिर्गौलिया लगायत क्षेत्रमा पनि निर्माणाधीन छन्।

नगर प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाए पनि नगरपालिकाले आफ्नै स्रोतबाट अभियानलाई निरन्तरता दिएको छ। आगामी दुई वर्षभित्र सबै लक्षित स्थानमा यस्ता शौचालय निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। हालसम्म तीन स्थानमा निर्माण सम्पन्न भइसकेको र थप पाँच स्थानमा काम तीव्र गतिमा भइरहेको छ।

अभियान संयोजक तथा व्यवसायी भोला प्रसाद दुलालका अनुसार स्थानीय समुदाय र नगरपालिकाको सहकार्यमा परियोजना अघि बढाइएको हो। विकास बजेटको दुई प्रतिशत रकम यस अभियानका लागि छुट्याइएको छ।

सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार नगरका आठ स्थानमा यस्ता शौचालय निर्माण हुनेछन्, जसका लागि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यसमा नगरपालिकाको ३५ प्रतिशत र निजी तथा दातृ निकायको ६५ प्रतिशत साझेदारी रहनेछ। स्थानीय सहभागिताका लागि १ सय रुपैयाँभन्दा माथि सहयोग गर्न आह्वान गरिएको छ।

विराटचोकस्थित शौचालयको व्यवस्थापन पनि नमुना बनेको छ। भवनमा एक परिवारलाई बसोबाससहित जिम्मेवारी दिइएको छ, जसले दैनिक तीन पटक सरसफाइ गर्दै शौचालयलाई स्वच्छ राख्छ। सटरबाट आउने भाडाले सरसफाइ, कर्मचारी र पुस्तकालय सञ्चालन खर्च धान्ने व्यवस्था गरिएको छ।

यो पहल केवल सुविधा विस्तार मात्र नभई सार्वजनिक संरचनाप्रतिको धारणा परिवर्तन गर्ने अभियानका रूपमा पनि हेरिएको छ। निजी क्षेत्रको सहकार्यमा सार्वजनिक सेवा उत्कृष्ट बनाउन सकिन्छ भन्ने उदाहरण सुन्दरहरैचाले प्रस्तुत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka