






काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा सहभागी हुने भएको छ। उक्त सिरिजमा नेपालले ६ फरक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले नर्थन टेरेटोरी स्ट्राइक्स, बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्स, र अस्ट्रेलियाली बिग ब्यास लिगका तीन टोली — मेलवर्न स्टार्स, होबर्ट हरिकेन्स र मेलवर्न रेनेगेड्ससँग खेल्ने तालिका तय भएको छ।
सिरिज अस्ट्रेलियाको डार्बिनमा हुनेछ। तालिकाअनुसार नेपालले १५ अगस्टमा नर्थन टेरेटोरी, १६ अगस्टमा बंगलादेश ‘ए’, १८ अगस्टमा मेलवर्न स्टार्स, १९ अगस्टमा होबर्ट हरिकेन्स, २० अगस्टमा मेलवर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।
यो सिरिज आगामी सेप्टेम्बरमा हुने आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेलिन लागेको हो। नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्य लिएको छ। साथै, छनोटपछिको तयारीस्वरूप नेपालले सेप्टेम्बरमै वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी समेत गरिरहेको छ।