






काठमाडौं । सेयर बजार आइतबार तीब्र उतारचढावका बीच सकारात्मक बनेर बन्द भएको छ ।
नेप्से सूचक ३.७५ अंकले बढेर २७०७.७२ विन्दुमा बन्द भएको छ । नेप्सेमा आइतबार तीब्र उतारचढाव देखिएको थियो । इन्ट्रा डे कारोबारमा सूचक २७२१ विन्दुसम्म पुगेको थियो । यद्दपि, त्यसपछि नाफा बुक गर्ने क्रम बढेपछि बन्द हुने बेलामा वृद्धि केही फितलो देखिएको हो ।
सेयर बजार सूचक लगातार छैटौं दिन सकारात्मक बनेको हो । यस दिन ९ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । बैंकहरुमा अधिक तरलताको स्थिति रहेको छ भने ब्याजदर निकै सस्तो विन्दुमा छ ।
यसका साथै नीतिगत कुराहरु पनि धेरै हदसम्म सहज भइसकेका कारण बजारलाई टेवा मिलेको हो ।अब सेयर बजारको सिजन पनि सुरु हुने भएकाले लगानीकर्ता केही उत्साहित बन्न थालेको अनुमान गर्न सकिन्छ ।
आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि राम्रा आएमा बजारले थप गति लिने विश्लेषण गरिएको छ । यद्दपि, सेयर बजार लगातार बढको बढ्यै मात्र गर्दैन । बजारमा करेक्सनका चरणहरु पनि देखिन्छन् ।
अर्कोतर्फ, बजारको गति र दिशा ठोकुवा गरेर भविष्यवाणी गर्न नसकिने भएकाले लगानीकर्ताले आफ्नो ज्ञान र सीपमा आधारित भएर लगानी गर्नु उपयुक्त हुने गर्छ ।