






काठमाडौं । नेपाली युवा टोली अपराजित रहँदै एसीसी पुरुष अन्डर-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।
मलेसियाको क्वालालाम्पुरस्थित सेलेगंर टर्फमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोली मलेसिया ४३ ओभर एक बलमा ९० रनमा अल आउट भएको थियो । मलेसियाले २८ रनमा शीर्ष चार ब्याटर गुमाएको थियो । मोहम्मद फातुलले सर्वाधिक ३८ रन जोडे । उसका ९ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागी अभय यादवले चार र सुभम खनालले तीन विकेट हात पारे । विपिन शर्मा र सचिन भट्टले एक-एक विकेट बाँडे ।
९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा केवल १ विकेट गुमाएर पुरा गर्यो । ओपनर प्रशिद्ध जैशी २ रन बनाएर नागिनेश्वरन सत्नकुमारनको बलमा क्याच आउट भएपनि शिवांश बजगाईं र परिमार्जन यादवले ४५ बलमा ७५ रनको आक्रामक अविजित साझेदारी गर्दै नेपाललाई फाइनल सम्म पुर्याए । परिमार्जनले ३५ बलमा ५ चौका र ५ छक्कासहित ५९ रनको आक्रामक अर्धशतकीय योगदान दिए । शिवांश २३ रनमा नटआउट रहे ।
नेपालले अव उपाधिका लागि शनिबार हङकङ र सिङ्गापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र सिङ्गापुरबीचको अर्को सेमिफाइनल खेल अहिले जारी छ ।
अघिल्लो संस्करणको फाइनलमा नेपालले मलेसियालाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।