काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
जितका निम्ति नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । अमेरिकाका साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले १०१ बलमा दुई चौका र एक छक्काको सहयोगमा ७५ रन बनाए । मिलिन्द कुमारले ६६ बलमा ७० रन बनाए ।
साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन जोडे ।
नेपालका निम्ति सन्दीप लामिछानेले तीन विकेट लिए । गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
करण केसीले ३१ बलमा दुई चौका र तीन छक्कासहित ४९ रनको योगदान दिए । कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका निम्ति हर्मित सिंहले तीन विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई/दुई विकेट लिए । जसदीप सिंह र शुभम रन्जानेले समान एक/एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको थियो ।
शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग–२ तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले २३ खेलबाट ३४ अंक जोडेको छ । नेपाल १९ खेलबाट १२ अंकसहित सातौँ स्थानमा छ ।
