






काठमाडौं । सेयर बजार लगातार वृद्धि यात्रामा देखिएको छ । नेप्से सूचक मंगलबार लगातार तेस्रो दिन बढेको हो ।
यस दिन सूचक ३१.४४ विन्दुले बढेर २६६२.९२ विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही साताको करेक्सनपछि सेयर बजार पुनः उकालो लाग्न थालेको हो ।
नेप्से सूचकले २६ सय विन्दुको आसपासमा बलियो सपोर्ट पाएको थियो । केही दिन नेप्से सूचक २६ सय विन्दुमै पनि स्थिर देखिएको थियो । त्यसयता भने सूचकमा लगातार ३ दिन सुधार आएको हो । करेक्सनपछि सस्तो भएको सेयर भाउमा लगानीकर्ता आकर्षित भएका छन् । यसअघि असार लागेदेखि नै बजार घट्न सुरु गरेको थियो ।
ब्याजदर निरन्तर घटेको छ । बैंकमा अधिक तरलताको अवस्था छ । तर यी कुराहरुले बजारमा सकारात्मक प्रभाव पार्न सकेको थिएन । लामो समय वियरिस चक्रमा घुमेको बजार अब विस्तारै गति परिवर्तनमा लाग्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
यस दिन ३०९ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधि विद्युत र बुटवल पावर कम्पनी रहेका छन् ।