






नोट: यो समाचार १ महिना अघिको हो
सांकेतिक तस्बीर
झापा । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्कमा रहेको खड्का फर्निचरमा भीषण आगलागी भएको छ। यो आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालित यो फर्निचर पसलमा आगलागी भएको हो। आगलागीका कारण काठ चिर्ने मेसिन र विभिन्न किसिमका काठहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगो लागेको खबर पाउने बित्तिकै अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिर्तामोड नगरपालिकाको दमकलले राति करिब साढे १२ बजेतिर आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण अझै खुल्न सकेको छैन, यद्यपि विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।