Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अर्थ

कोसी प्रदेशको ७ वर्ष : स्राेत अभावबीच आर्थिक प्रगतिमा अग्रसर

Calendar आइतबार, असार ०१, २०८२  | बिहान ११:१९ बजे

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको सात वर्षपछि सरकारले पहिलोपटक सम्पूर्ण प्रगतिका विवरणसहित आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनु पूर्व सार्वजनिक गरिएको सो प्रतिवेदनमा प्रदेशले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, ऊर्जा, सामाजिक सुरक्षा, तथा सुशासनका क्षेत्रमा गरेका उपलब्धिहरू समेटिएका छन्।

भौतिक पूर्वाधारमा ठोस प्रगति

बिज्ञापन

आर्थिक सर्वेक्षणअनुसार प्रदेशमा हालसम्म ७७ वटा बहुवर्षीय सडक आयोजना सञ्चालनमा छन्, जसमा ३९ आयोजना सम्पन्न भइसकेका छन्। यी आयोजना अन्तर्गत जम्मा ४४८.६४ किलोमिटर सडक निर्माण भएको छ। साथै, प्रदेश स्थापना यता ९३ वटा मोटरेबल पुल र २२४ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। यस अवधिमा १,४२० किलोमिटर ग्राभेल, १,२०० किलोमिटर कच्ची, र ६१२ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ।


सिँचाइ, तटबन्ध र पहिरो नियन्त्रण

सिँचाइ सुविधा ३ लाख ५९ हजार हेक्टर जमिनमा पुगेको छ, जसमा ३७.३% क्षेत्रमा वर्षभरि सुविधा उपलब्ध छ। साना सिँचाइ कार्यक्रमअन्तर्गत १,१५७ वटा कृषक कुलो सुधार गरी २०,४०० हेक्टरमा सिंचाइ सुविधा विस्तार गरिएको छ। ३९० किलोमिटर तटबन्ध र ८३ वटा पहिरो व्यवस्थापन कार्य सम्पन्न गरिएको छ।

घर, खानेपानी र विद्युत् पहुँच

जनता आवास कार्यक्रमअन्तर्गत ७,२८४ घर निर्माण गरी विपन्न तथा लोपोन्मुख समुदायलाई हस्तान्तरण गरिएको छ। ९३.०६% जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पुगेको छ। विद्युत्को पहुँच ९९.३% जनसङ्ख्यामा विस्तार भएको छ, जुन ५ वर्ष पहिले ८२.४३% मात्र थियो। विद्युत् उत्पादन २०७७–७८ मा २८० मेगावाटबाट बढेर ६३१ मेगावाट पुगेको छ।

स्वास्थ्य र शिक्षा क्षेत्रको प्रगति
प्रदेशभरि १,६३५ स्वास्थ्य संस्था सञ्चालनमा छन्, जसमध्ये १,४५७ आधारभूत स्वास्थ्य केन्द्र र ११८ आयुर्वेद केन्द्र छन्। चालु वर्षको फागुनसम्म ७५ लाखभन्दा बढी व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्। नवजात मृत्यु दर प्रति हजार जीवित जन्ममा २० रहेको छ भने मातृ मृत्युदर १५७ रहेको छ। विद्यालय नर्सिङ कार्यक्रम १७९ विद्यालयमा विस्तार भई १ लाख ५६ हजार विद्यार्थी लाभान्वित भएका छन्।

औद्योगिक र वित्तीय क्षेत्र
प्रदेशमा हालसम्म ८५ हजार ९१९ उद्योग दर्ता भएका छन्, जसमा ठूला २५२, मझौला ३९९ र साना ८५ हजारभन्दा बढी छन्। लघु तथा घरेलु उद्योगको संख्या ९८ हजार ६१४ पुगेको छ, जसमा १ खर्ब २४ अर्ब लगानी प्रस्ताव गरिएको छ। मोबाइल बैंकिङ प्रयोगकर्ता ३८ लाख नाघेका छन्। बीमा क्षेत्रबाट १६ अर्ब प्रिमियम संकलन भएको छ।

पर्यटन र कानुनी संरचना
सन् २०२४ मा प्रदेशमा १,०३२ जना पर्वतारोही आएका थिए, जुन अघिल्लो वर्षभन्दा २०% बढी हो। पर्वतारोहण रोयल्टीबाट १ अर्ब ३९ करोड राजस्व संकलन भएको छ। ७ वर्षमा १,०७४ पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। प्रदेशले हालसम्म ६७ ऐन, ३३ नियमावली, ५ गठन आदेश, ३ नीति र ८८ अन्य कानुनहरू बनाएको छ।

राजस्व र बेरुजू अवस्था
मालपोत कार्यालयहरूबाट चैतसम्म ३ अर्ब ७९ करोडभन्दा बढी राजस्व संकलन भएको छ। बेरुजू रकम ८ अर्ब ४२ करोड रहेकोमा ३ अर्ब २ करोड फर्स्यौट भई हाल ५ अर्ब ४० करोड बाँकी छ, जसमध्ये ६९.६% पेस्की बेरुजू हो।

आर्थिक सूचकाङ्क
चालु आर्थिक वर्षमा कोशीको आर्थिक वृद्धिदर ३.३% रहने अनुमान गरिएको छ। पछिल्ला ७ वर्षमा औसत वृद्धिदर ३.८२% रहेको छ। कूल गार्हस्थ्य उत्पादन ९ खर्ब ७० अर्ब पुग्ने अनुमान छ, जसमा कृषि क्षेत्रको योगदान ३४.१% छ। प्रति व्यक्ति आय १,४०१ अमेरिकी डलर अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत (१,४९६ डलर) भन्दा कम हो।

कोशी प्रदेशले विगत सात वर्षमा पूर्वाधार, सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको देखिन्छ। यद्यपि अझै बेरुजू न्यूनीकरण, औद्योगिक उत्पादन वृद्धिसँगै आर्थिक वृद्धिदर उच्च बनाउने चुनौती रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो