विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक उखुबारीमा शुक्रबार दिउँसो अन्दाजी २५–२६ वर्षीय युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
उखुबारीभित्र घोप्टो परेको अवस्थामा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको शरीरमा कपडा यथावत् रहेको र दाहिने कानमा चोट लागेर सामान्य रक्तस्राव भएको देखिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए। एसपी कटवालले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गरेका छन्।
प्रहरीले युवकको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको हो वा हत्या गरेर शव उखुबारीमा फालिएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै युवकको मृत्युको वास्तविक कारण खुल्ने एसपी कटवालले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
