विराटनगर । श्मसान घाटमा दाउराको अभाव, मनपरी मूल्य असुली, फोहोर व्यवस्थापनमा लापरबाही र चमेनागृहको महँगो कारोबारजस्ता समस्या बढेपछि विराटनगर महानगरपालिकाले व्यवस्थापन सुधारका लागि गम्भीर चासो देखाएको छ । महानगरले हाटखोलास्थित श्मसान घाटमा देखिएका बेथिति अन्त्य गर्दै सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउन घाट व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरी विभिन्न निर्णय गरेको छ ।
मेयर नागेश कोइरालाको अग्रसरतामा भएको छलफलले दाउराको मूल्य निर्धारणदेखि फोहोर व्यवस्थापन, चमेनागृहको मूल्य नियन्त्रण र विद्युत् व्यवस्थापनसम्मका विषयलाई प्राथमिकतामा राखेको छ । घाट व्यवस्थापन समितिका अध्यक्ष सतिश दुगडसहितका पदाधिकारी सहभागी छलफलमा परोपकार घाट र श्मसान घाट दुवै समितिका पदाधिकारीलाई बोलाएर दाउराको निश्चित दररेट कायम गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी शवदाहपछि बाँकी रहने दाउरा, कपडा, फूलमाला तथा अन्य सामग्री जथाभावी खोलामा फाल्न नपाइने व्यवस्था मिलाइने भएको छ । यस्ता सामग्रीलाई निश्चित स्थानमा संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । घाट परिसरमा बढ्दै गएको फोहोरको समस्या नियन्त्रण गर्न यो व्यवस्था प्रभावकारी हुने महानगरको अपेक्षा छ ।
श्मसान घाट परिसरमा सञ्चालित चमेनागृहबाट उपभोग्य सामग्री बिक्री गर्दा पनि मनपरी मूल्य लिन नपाइने भएको छ । चमेनागृहमा बिक्री हुने चिया, पानी, बिस्कुटलगायतका सामग्रीको मूल्य बजार मूल्यभन्दा बढी राख्न नपाउने निर्णय गरिएको छ । सेवाग्राहीलाई सामान्य उपभोग्य सामग्रीसमेत चर्को मूल्यमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगरले यस्तो निर्णय गरेको हो ।
घाट परिसरमा पर्याप्त प्रकाशको व्यवस्था नभएको गुनासोलाई सम्बोधन गर्दै बिजुली बत्तीको उचित व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ । त्यस्तै, घाटको समग्र व्यवस्थापन, सरसफाइ र सेवाप्रवाहको अवस्था नियमित रूपमा अनुगमन गर्ने जिम्मेवारी वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, वडा नम्बर ८ का अध्यक्ष राम पोखरेललाई दिइएको छ ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, घाट व्यवस्थापन समितिका कोषाध्यक्ष जुगलकिशोर राठीलगायत सहभागी थिए ।
महानगरका सूचना अधिकारी अर्जुन थपलियाका अनुसार श्मसान घाटमा दाउरा अभाव हुने, दाउरा तथा चमेनागृहमा आवश्यकताभन्दा बढी मूल्य लिने र फोहोरको उचित व्यवस्थापन नहुनेलगायतका गुनासा व्यापक रूपमा प्राप्त भएका थिए । नागरिकबाट आएका गुनासोलाई बेवास्ता नगरी तत्काल सुधारका कदम चाल्ने उद्देश्यले मेयर कोइरालाले सम्बन्धित पक्षलाई बोलाएर छलफल आयोजना गरेका हुन् ।
मृतकको अन्तिम संस्कारका लागि पुग्ने परिवारजनले शोकको घडीमा समेत दाउरा, खाद्यवस्तु र सरसफाइजस्ता आधारभूत विषयमा सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न महानगरले चासो देखाएको छ । अब गरिएका निर्णय कार्यान्वयन भए–नभएको अनुगमन वडा तहबाट गरिनेछ ।
