काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको तयारी अघि बढाएको छ। पार्टीका नेताहरुका अनुसार करिब १८ सदस्यीय मन्त्रिपरिषद बनाउने योजना बनाइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सम्भव भएसम्म सानो आकारको मन्त्रिपरिषद गठन गर्ने लक्ष्य राखिएको बताए। उनका अनुसार अहिले मन्त्रिपरिषदको आकार १८ जनाको हाराहारीमा राख्ने विषयमा आन्तरिक छलफल भइरहेको छ।
यस क्रममा केही मन्त्रालयहरू गाभ्ने वा मन्त्रीहरूलाई एकभन्दा बढी जिम्मेवारी दिने विकल्पबारे पनि विचार भइरहेको उनले जानकारी दिए। यद्यपि मन्त्रालयको संख्या र मन्त्रीहरूको नाम भने अझै अन्तिम टुंगोमा पुगेको छैन।
बुर्लाकोटीका अनुसार चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। सोही अवसरमा अन्य मन्त्रीहरूले पनि सँगै शपथ लिने गरी तयारी भइरहेको उनले बताए।
