






काठमाडौं । भिजिट भिसा प्रकरणपछि विवादमा तानिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन् । बरु आफ्ना कुरा राख्न प्रतिनिधि सभा बैठकमा आफूले समय पाउनु पर्ने उनको अडान छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका जिज्ञासाको जवाफ दिँदै राजीनामा नदिने प्रस्ट पारेका हुन् । भिजिट भिसा प्रकरणको विषय सांसदहरुले प्रश्न उठाएका थिए । विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए ।
जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने बताए । वातावरण बनाइदिन उनले विपक्षी दललाई आग्रह पनि गरे ।
समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए ।
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।