विराटनगर | जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिनुहुने भएको छ । फिजीको नाडीमा आयोजना हुने ‘प्रि–कोप’ शिखर सम्मेलनमा उहाँले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको बताउनुहुनेछ ।
पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको नयाँ सर्वेक्षण उद्धृत गर्दै स्टिलले पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्यधिक गर्मीका कारण गर्भवती र नवजात शिशुमा जटिलता देखेको बताउनुहुनेछ । वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकमाझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन् ।
फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनका कारण आमा र बच्चा बढ्दो जोखिममा रहेको बताउनुभयो । उहाँले अत्यधिक गर्मीलाई ‘अदृश्य हत्यारा’ भन्दै आवश्यक प्रमाण र समाधान रहेकाले नेताहरूले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसम र तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिएका छन् । एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल र मध्य अमेरिकासम्मका करिब ३३ देशमा जुलाईको तापक्रम रेकर्ड सुरु भएयताकै उच्च बनेको थियो ।
फिजीमा भइरहेको प्रि–कोप ३१ तथा टुभालुको बैठकलाई प्रशान्त नेताहरूले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका समुदायका समस्या विश्वसामु उठाउने अवसरका रूपमा लिएका छन् । यी बैठक अर्को महिना टर्कीमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ को तयारीका रूपमा आयोजना भइरहेका छन् ।
