Premier Cables

विराटनगर

हाजी आँखा अस्पताल भन्छ- ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | बिहान ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–१४ रानीस्थित साविक हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रालि) ले चार जना पूर्वसञ्चालकले सेयर बिक्रीबापतको रकम बुझिसकेपछि पनि पुनः रकम दाबी गर्दै अस्पतालविरुद्ध भ्रम फैलाएको आरोप लगाएको छ।

अस्पतालले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत पूर्वसञ्चालकहरू डा. गुणराज कट्टेल, ज्याउल कमर, राजेश साह र मो. अतहर अन्सारीले सेयरबापतको रकम नपाएको भन्दै सञ्चारमाध्यममा दिएको अभिव्यक्ति निराधार र भ्रामक भएको दाबी गरेको हो।

विज्ञापन

अस्पतालका अध्यक्ष मन्नु कुमार गुप्ताले चारै जनालाई सेयरबापत भुक्तानी गरिएको बैंक स्टेटमेन्ट तथा अन्य प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताएका छन्। उनका अनुसार चार पूर्वसञ्चालकलाई पाउनुपर्ने कुल १ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी भइसकेको छ।

अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार डा. गुणराज कट्टेलले पाउनुपर्ने ५७ लाख ८० हजार रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र नगदमार्फत २०८२ माघसम्ममा बुझिसकेको दाबी गरिएको छ।

त्यस्तै, ज्याउल कमरले पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख रुपैयाँ बैंकमार्फत र बाँकी रकम नगद बुझेको अस्पतालको भनाइ छ। राजेश साहले पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको सट्टा ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी लिएको र यो पाउनुपर्ने रकमभन्दा १ लाख १ हजार ६०० रुपैयाँ बढी भएको अस्पतालले जनाएको छ।

मो. अतहर अन्सारीले पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये अधिकांश रकम उनका पिता कादिर अन्सारीको नाममा बैंकमार्फत र बाँकी नगद भुक्तानी गरिएको अस्पतालको दाबी छ।

अस्पतालका अनुसार चार जनालाई भुक्तानी गर्नुपर्ने कुल रकम १ करोड ५८ लाख रुपैयाँ भए पनि हालसम्म १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी भइसकेको छ।

ग्यारेन्टी चेकलाई लिएर विवाद
अस्पताल प्रशासनका अनुसार सेयर खरिद–बिक्रीका क्रममा ग्यारेन्टीस्वरूप कुमारी बैंकको चेक दिइएको थियो। पूर्वसञ्चालकहरूले त्यही चेकलाई आधार बनाएर अस्पताललाई कालोसूचीमा राख्ने प्रयास गरेको र पुनः रकम दाबी गरेको अस्पतालको आरोप छ।

अस्पतालले उच्च अदालतको फैसलालाई सम्मान गर्दै पुनः १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिसकेको जनाएको छ। बैंकमा रकम जम्मा गरिएपछि पनि सम्बन्धित पक्षले रकम नबुझी सञ्चारमाध्यममार्फत अस्पताल र नेतृत्वविरुद्ध आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ।

‘सेयरबापतको रकम बुझिसकेर पनि ग्यारेन्टी चेकलाई हतियार बनाएर फेरि रकम असुल्न खोज्नु र अस्पतालको छवि बिगार्नु निन्दनीय छ,’ अध्यक्ष गुप्ताले भने, ‘हामीसँग सबै बैंक स्टेटमेन्ट र भुक्तानीका प्रमाण सुरक्षित छन्। भ्रम फैलाउनेहरूविरुद्ध हामी कडा कानुनी उपचारमा जानेछौं।’
२०७८ सालमा स्थापना भएको अस्पतालका सुरुवाती १६ जना सञ्चालकमध्ये १५ जनाले आफ्नो सेयर बिक्री गरी बाहिरिसकेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सेयर बिक्री गरेका सञ्चालकहरूको रकम भुक्तानी भइसकेको छ।

यसअघि शनिबार नै चार जना पूर्वसञ्चालकले पत्रकार सम्मेलन गरी आफूहरूले सेयरबापतको रकम नपाएको गुनासो गरेका थिए। उनीहरूको दाबीपछि अस्पतालले भने आफूहरूसँग भुक्तानी भएको पुष्टि गर्ने बैंक स्टेटमेन्ट तथा अन्य प्रमाण रहेको जनाएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka