काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नेतृत्व नछोड्ने संकेतसहितको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन्।
पार्टी पुनर्गठनको बहसलाई केन्द्रमा राख्दै ओलीले पुनर्गठनलाई नेतृत्व विस्थापनसँग मात्र जोड्न नहुने बताएका छन्। पार्टी कुन अवस्थामा छ भन्ने मूल्याङ्कन नगरी नेतृत्व परिवर्तन गर्नु पुनर्गठन हुन नसक्ने उनको तर्क छ।
राष्ट्रिय राजनीतिदेखि पार्टीभित्रका समस्या र आगामी कार्यभारसम्मका विषय समेटिएको प्रतिवेदनमा ओलीले एमाले र तत्कालीन कम्युनिस्ट आन्दोलनमा भएका पुनर्गठनका ऐतिहासिक घटनालाई समेत उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनले केशरजंग रायमाझीको दरबार प्रवेश, झापा आन्दोलन तथा २०७५ सालपछिको पार्टी पुनर्गठनका घटनालाई सन्दर्भमा राख्दै वर्तमान अवस्था ती परिस्थितिसँग समान नरहेको उल्लेख गरेका छन्।
ओलीले पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभएको बताएका छन्।
‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ? हाम्रो धारको आन्दोलनमा कति पटक र कहिले–कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन,’ प्रतिवेदनमा उनले भनेका छन्।
ओलीले एमाले धारको आन्दोलनमा भएका तीनवटा पुनर्गठनको चर्चा गरेका छन्।
उनका अनुसार पहिलो पुनर्गठन तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीको नेतृत्वमा पार्टीको बहुमत दक्षिणपन्थी बन्दै गएपछि भएको थियो। २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरी लोकतन्त्र अपहरण गरेपछि रायमाझीले त्यसको समर्थन गर्दै पञ्चायतको पक्षमा उभिएको ओलीको प्रतिवेदनमा उल्लेख छ। यस्तो अवस्थामा पार्टी र आन्दोलनलाई जोगाउन २०१८ सालको ‘दरभंगा प्लेनम’पछि पार्टीको पुनर्गठन गरिएको उनले बताएका छन्।
दोस्रो पुनर्गठन तेस्रो महाधिवेशनपछि पार्टी नेतृत्व कमजोर हुँदै संगठन अस्तव्यस्त र निष्क्रिय अवस्थामा पुगेपछि भएको ओलीको दाबी छ। उनका अनुसार राजाको निरङ्कुश शासन र पञ्चायती व्यवस्थाको दमनबीच २०२७–०२८ सालमा झापाबाट जनवादी गणतन्त्रको उद्देश्यसहित नयाँ पार्टी निर्माण, विस्तार र एकताको प्रक्रिया अघि बढाइएको थियो। यही प्रक्रियालाई उनले दोस्रो पुनर्गठनका रूपमा व्याख्या गरेका छन्।
तेस्रो पुनर्गठन २०७५ सालपछि भएको ओलीले बताएका छन्। निर्वाचनमार्फत पार्टीलाई करिब दुई तिहाइको अवस्थामा पुर्याएपछि पार्टीभित्र विवाद उत्पन्न भएको र आफूहरूलाई पार्टीबाट निकाल्ने तथा पार्टी कब्जा गर्ने प्रयास भएको उनको दाबी छ। त्यसपछि आफ्नै पहल र नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपरेको उनले उल्लेख गरेका छन्।
ओलीले अहिले भइरहेको पुनर्गठनसम्बन्धी बहस भने ती ऐतिहासिक परिस्थितिसँग मेल नखाने दाबी गरेका छन्।
‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि बिल्कुलै मेल खाँदैन,’ उनले प्रतिवेदनमा भनेका छन्।
