विराटनगर । मोरङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक युवतीसहित दुई युवक रहेका छन्।
सुनवर्षी नगरपालिका–८ सिक्टीबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङलाई पक्राउ गरेको हो।
शनिबार राति करिब ११ः३० बजे सिक्टीबाट विश्वकर्माचोकतर्फ जाँदै गरेको को २५ प ८८७९ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक विक्रम र पछाडि सवार केविनाको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यसैगरी, पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनबाट १ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित २३ वर्षीय करण राई पक्राउ परेका छन्। पथरीशनिश्चरे–३ जंगाटोलका राईलाई लागुऔषध सेवन तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले शनिबार साँझ करिब ६ः३० बजे नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा राईले दाहिने साइडको गोजीमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
