Premier Cables

विराटनगर

आज विश्वकर्मा पूजा- विराटनगरका कलकारखानामा विशेष चहलपहल

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०१, २०८३  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आज भगवान विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा तथा विश्वकर्मा जयन्ती मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन विश्वकर्मा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ। यस दिन भगवान विश्वकर्माको जन्म भएको विश्वासका आधारमा विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ।

विश्वकर्मा पूजाका अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा वर्कसपमा भगवान विश्वकर्माको मूर्ति तथा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गरिन्छ। कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर श्रमिक तथा कालिगढले उत्साहका साथ पूजा मनाउने गर्छन्।

विज्ञापन

पूजाका क्रममा बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति शुद्ध तथा पवित्र स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। विराटनगरका विभिन्न उद्योग, कलकारखाना तथा वर्कसपमा पनि विश्वकर्माका मूर्ति स्थापना गरी साजसज्जा गरिएको छ।

विश्वकर्मा पूजाका दिन कालिगढ तथा श्रमिकले दैनिक काममा प्रयोग गर्ने औजार तथा उपकरणको पूजा गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार औजारको पूजा गर्दा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने तथा राम्रो काम गर्न सकिने विश्वास छ।

को हुन् भगवान विश्वकर्मा ?

हिन्दू धार्मिक मान्यताअनुसार भगवान विश्वकर्मालाई देवशिल्पी तथा वास्तुकलाका ज्ञाता मानिन्छ। पौराणिक कथनअनुसार भगवान महादेवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टिको सृजना र पालनाको जिम्मेवारी दिएका थिए। सृष्टि निर्माणको जिम्मेवारी पूरा गर्ने क्रममा ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई निर्माण तथा शिल्पसम्बन्धी कार्यको जिम्मेवारी दिएको धार्मिक कथन छ।

विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकारका रूपमा समेत चित्रण गरिन्छ। धार्मिक कथनअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए।

भगवान विश्वकर्माको महत्त्वको वर्णन ऋग्वेदमा समेत पाइन्छ। उनका विभिन्न सिर्जना र निर्माणसँग सम्बन्धित धार्मिक कथनहरूमा सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लंका, द्वापरयुगको द्वारिका तथा कलियुगसँग जोडिएको जगन्नाथ मन्दिरलगायतका संरचनाको चर्चा गरिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka