विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिका लागि सुभाष चन्द्र बस्नेतले उम्मेदवारी प्रस्तुत गरेका छन। विधार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका बस्नेतले यसपटक आफूलाई परिवर्तनको पक्षमा उभिएको नेतृत्वका रूपमा अघि सारेका छन।
वि.सं. २०५५ सालदेखि राजनीतिक रूपमा क्रियाशील बस्नेत विधार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका हुन्। नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र विचारबाट प्रभावित बस्नेत जननायक बीपी कोइरालाको राजनीतिक दर्शन र विचारलाई विशेष रूपमा आत्मसात गर्ने नेताका रूपमा परिचित छन।
लोकतन्त्र, सामाजिक न्याय, समावेशिता र जनउत्तरदायी राजनीतिक संस्कारलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएका बस्नेतले पार्टीभित्र पनि युवालाई नेतृत्वमा ल्याउन अब ढिला गर्न नहुने बताउँदै आएका छन। पुस्तान्तरण र नेतृत्वमा नयाँ ऊर्जा आवश्यक रहेको उनको स्पष्ट धारणा छ।
बस्नेत प्रस्ट वक्ताका रूपमा समेत परिचित छन्। राजनीतिक तथा सामाजिक विषयमा आफ्ना धारणा स्पष्ट र निर्भीक रूपमा राख्ने बस्नेतले संगठनलाई जनतासँग थप जोड्दै पार्टीलाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।
राजनीतिसँगै बस्नेत सामाजिक कार्यमा समेत निरन्तर सक्रिय छन्। विभिन्न सामाजिक गतिविधि, युवामुखी अभियान तथा समुदायसँग सम्बन्धित कार्यहरूमा उनको सक्रिय सहभागिता रहँदै आएको छ। युवालाई सामाजिक जिम्मेवारी र नेतृत्वसँग जोड्ने विषयमा पनि उनले निरन्तर काम गर्दै आएका छन्।
खेलकुद क्षेत्रको समेत राम्रो बुझाइ राख्ने बस्नेत सम्राट स्पोर्टिङ क्लबका सचिवका रूपमा समेत सक्रिय छन्। खेलकुदलाई युवाको व्यक्तित्व विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यमका रूपमा हेर्ने बस्नेतले युवा सहभागितालाई प्राथमिकता दिँदै आएका छन्।
आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि संगठनमा नयाँ सोच, नयाँ ऊर्जा र परिवर्तनको सुरुवात गर्ने अभियानका रूपमा प्रस्तुत गर्दै बस्नेतले कांग्रेसलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
उनको उम्मेदवारीले विराटनगर महानगर कांग्रेसभित्र अनुभवसँगै नयाँ पुस्ताको सक्रियता, परिवर्तनको चाहना र संगठन सुदृढीकरणको बहसलाई थप अगाडि ल्याएको देखिन्छ।
“लोकतन्त्र कांग्रेसको आधार हो, बीपीको विचार हाम्रो मार्गदर्शन हो र युवाको नेतृत्व भविष्यको आवश्यकता हो” भन्ने मान्यता बोकेका बस्नेतले विराटनगर महानगर कांग्रेसलाई थप ऊर्जाशील र जनतामाझ प्रभावकारी संगठनका रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका छन।
