विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ ‘ख’ ले आफ्नो कार्यकाल पूरा गर्दै गर्दा संगठनलाई सक्रिय र मजबुत बनाउन भूमिका खेल्ने नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको छ।
रंगेली नगरपालिका–२ दर्वेशामा आयोजित कार्यक्रममा क्षेत्रअन्तर्गतका वडा सभापति, नगर सभापति तथा कार्यसमिति सदस्यहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गरिएको हो।
कार्यक्रममा क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका सुनवर्षी नगरपालिका १ का देवेन्द्रबहादुर बस्नेतको पाँचवर्षे कार्यकालको उपस्थित नेता तथा कार्यकर्ताले प्रशंसा गरेका थिए। बस्नेतको नेतृत्वमा क्षेत्रीय संगठनलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह भएको भन्दै सहभागीहरूले उनको कार्यकालको खुलेर प्रशंसा गरे।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी नेताहरूले आगामी अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। अहिलेको गुटगत विभाजनले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनमा समेत असर पार्न सक्ने भन्दै नेताहरूले सबैलाई मन ठूलो बनाएर संगठन निर्माणमा लाग्न आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विशिष्ट अतिथि शिवनारायण सिंहले नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ ‘ख’ को कमिटीलाई कोशी प्रदेशकै उत्कृष्ट कमिटीमध्ये एक भएको बताए। उनले देवेन्द्रबहादुर बस्नेतको नेतृत्वले क्षेत्रमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे।
त्यस्तै, नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभाग प्रमुख मदन सङ्ग्रौलाले आफूले कोशी प्रदेशका विभिन्न क्षेत्रको संगठनको अवस्था नजिकबाट अनुभव गरेको उल्लेख गर्दै क्षेत्र नम्बर २ ‘ख’ को संगठन उत्कृष्ट रहेको बताए। सक्षम नेतृत्वको हातमा संगठन हुँदा त्यसले मजबुती प्राप्त गर्ने भन्दै उनले बस्नेतको नेतृत्वको प्रशंसा गरे।
आफ्नो पाँचवर्षे कार्यकालको अन्त्यमा सभापति बस्नेतले संगठनलाई सक्रिय र प्रभावकारी बनाउन साथ, सहयोग र भूमिका निर्वाह गर्ने सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि पार्टी र पार्टीभित्रका नेता–कार्यकर्ताको साथ र सहयोग प्राप्त भए अझै सशक्त भएर संगठन निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
क्षेत्र नम्बर २ का उपसभापतिसमेत रहेका बस्नेत आगामी अधिवेशनमा क्षेत्रीय सभापतिको जिम्मेवारीका लागि समेत तयारी गर्दै अघि बढिरहेका छन्। पाँचवर्षे कार्यकालमा संगठनलाई सक्रिय बनाउन खेलेको भूमिकाका कारण बस्नेतको आगामी राजनीतिक यात्रालाई समेत कांग्रेसभित्र चासोका साथ हेरिएको छ ।
