न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा जस्तोसुकै राजनीतिक असर परे पनि इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णय सही भएको बताएका छन्।
‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा उनले पुनः निर्णय लिनुपरे पनि आफूले यही कदम दोहोर्याउने स्पष्ट पारेका हुन्। ट्रम्पले आफू ‘पश्चात्ताप’ भन्ने शब्दमा विश्वास नगर्ने उल्लेख गर्दै भने, “तपाईं सधैँ आफूमाथि अलिकति प्रश्न उठाउन सक्नुहुन्छ।”
युद्धका कारण आफ्ना समर्थकहरू निराश वा हतोत्साहित भएको भन्ने दाबीलाई खारेज गर्दै ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन कदम चालेकोमा आफ्ना समर्थकहरू गर्व गर्छन् भन्ने तर्क गरे।
साथै, उनले मध्यावधिसँगै युद्ध समाप्त हुने विश्वास व्यक्त गर्दै तेहरानले चुनावलाई प्रभावित पार्ने र कंग्रेसमा रिपब्लिकन पार्टीको नियन्त्रण कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण तेल र ग्यासको मूल्य बढेको छ, जुन आगामी मध्यावधि चुनावमा रिपब्लिकनहरूका लागि मुख्य चुनौती बनेको छ।
