विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर थुनिएको खोला भरिएपछि ड्याममाथिबाट पानी बग्न थालेको छ।
केही समय पूर्ण रूपमा थुनिएको उक्त खोलामा करिब ३५ देखि ४० मिटर क्षेत्रमा ताल बनेको थियो।
दूधकोशी गाउँपालिका-७ का वडाध्यक्ष भोजराज कार्कीले करिब ३५-४० मिटर क्षेत्रमा बनेको ‘ड्याम’ बाट पानी बग्न थालेकोले बाढीको जोखिम रहेको बताए। उनले भने,”बांध भत्कियो भने खतरा छ ।”
अहिले ड्याममाथिबाट पानी बगेको र कुनै पनि बेला फुटेर बाढी आउन सक्ने जोखिम कायमै रहेको उनले बताए । हुँगा खोला महाकुलुङ र सोताङ हुँदै दूधकोशी नदीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
ड्याम भत्किएर आउन सक्ने सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सुनसरीको वराहक्षेत्र आसपास र सप्तकोशी नदी किनारका बस्तीहरूमा इलाका प्रहरी कार्यालय चतराले माइकिङमार्फत पूर्वसूचना दिँदै सजग रहन अपिल गरेको छ।
स्थानीय प्रशासनले दूधकोशी र हुँगा खोला किनारका बासिन्दालाई नदी क्षेत्रमा नजान र सतर्क रहन अनुरोध गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरी प्रसाद अर्यालले बाढी आउँदा कुन तहको आउने भन्ने जानकारी नभएकोले तटीय क्षेत्रमा नदी आसपासका क्षेत्रमा नजान र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको बताए । प्रहरीले चतरादेखि कोसी ब्यारेज क्षेत्रमा माइकिङ गरिरहेको छ ।
