हेटौँडा | मकवानपुरका सर्प उद्धारकर्ता राजेश थापालाई किङ कोब्राले डसेको तीन महिना नपुग्दै उहाँ फेरि त्यही प्रजातिको सर्प उद्धारमा फर्किनुभयो। यसपटक भने उहाँले छोरा रोशनसँग मिलेर बस्ती नजिकै देखिएको किङ कोब्रालाई सुरक्षित उद्धार गर्नुभयो।
गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा राजेशलाई सर्पले तिघ्रामा डसेको थियो। अस्पताल जानुअघि उहाँले छोरा रोशनलाई भनेका थिए, “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।”
त्यसबेला राजेशले उद्धार गर्न लागेको किङ कोब्रा उहाँको १४औँ थियो। करिब ११–१२ फिट लामो अनुमान गरिएको सर्पलाई नियन्त्रणमा लिने क्रममा त्यसले घुँडाभन्दा माथिको तिघ्रामा डसेको थियो।
“त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो,” घटनालाई सम्झँदै राजेशले भन्नुभयो।
सर्पले डसेपछि राजेशलाई तत्काल अस्पताल लैजाने तयारी भयो। तर आफू अस्पतालतर्फ लाग्दै गर्दा पनि उहाँको चिन्ता आफूलाई डसेको सर्प र घटनास्थलमा रहेका मानिसप्रति नै थियो। त्यसैले उहाँले छोरालाई सर्प सुरक्षित उद्धार गरेर मात्रै अस्पताल आउन भन्नुभयो।
राजेश अस्पतालतर्फ लागेपछि घटनास्थलमा रहेका रोशनका लागि करिब २० मिनेट निकै कठिन बने। एकातर्फ बुबाको अवस्था कस्तो हुन्छ भन्ने चिन्ता थियो भने अर्कोतर्फ बुबालाई डसेकै किङ कोब्रा नियन्त्रणमा लिनुपर्ने जिम्मेवारी।
“मुटुको धड्कन बढिरहेको थियो, हातखुट्टा लगलग कामिरहेका थिए,” रोशनले भन्नुभयो, “त्यो बेला छोरा हुनुभन्दा पनि पहिला म उद्धारकर्ता हुँ भनेर मैले स्वीकार गरेँ।”
आफूलाई सम्हाल्दै रोशनले करिब २० मिनेटको प्रयासपछि किङ कोब्रालाई सुरक्षित नियन्त्रणमा लिए। त्यसपछि स्थानीयलाई सर्प नमार्न आग्रह गर्दै उनी बुबालाई भेट्न अस्पतालतर्फ लागे।
राजेश सर्पले डसेको करिब ४० मिनेटमा हेटौँडा अस्पताल पुग्नुभएको थियो। उपचारमा संलग्न डा. हरि खड्काका अनुसार अस्पताल आइपुग्दासम्म उहाँमा सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबडी र रक्तचापमा उतारचढावजस्ता लक्षण देखिन थालेका थिए।
“अझ ढिलो भएको भए अवस्था गम्भीर हुन सक्थ्यो,” डा. खड्काले भन्नुभयो, “समयमै अस्पताल आइपुग्नु र चिकित्सक टोलीले तत्काल उपचार सुरु गर्नुले उहाँलाई गम्भीर अवस्थामा पुग्नबाट जोगायो।”
अस्पतालको आकस्मिक कक्षमा तत्काल दुई भाइल एन्टीस्नेक भेनम दिइएको थियो। त्यसपछि सघन उपचार कक्षमा लगेर थप १० भाइल एन्टीस्नेक भेनम दिइएको थियो। उपचारपछि सर्पदंशका लक्षण क्रमशः कम हुँदै गए।
तर डसेको ठाउँको घाउ निको हुन भने समय लाग्यो। त्यसका कारण राजेश करिब दुई महिनासम्म पहिलेजसरी सर्प उद्धारमा निस्कन सक्नुभएन। यद्यपि सर्प उद्धारका लागि आउने फोन भने रोकिएनन्।
कतै घरभित्र सर्प पसेको खबर आउँथ्यो भने कतै विषालु सर्प देखिएको भन्दै उद्धारका लागि बोलाइन्थ्यो। शरीरले घटनास्थलमा जान नदिए पनि उहाँको मन भने सर्प उद्धारमै हुन्थ्यो।
स्वास्थ्यमा सुधार आएपछि राजेश फेरि सर्प उद्धारमा सक्रिय हुन थाल्नुभयो। आफूलाई डसेको किङ कोब्रासँग फेरि कहिले सामना होला भन्ने उहाँलाई थाहा थिएन।
त्यसको करिब तीन महिनापछि, भदौ १८ गते बिहान, मकवानपुरको बकैया गाउँपालिका–३ देउराली चिसापानीबाट उहाँलाई फेरि किङ कोब्रा देखिएको खबर आयो। सुरुमा राजेशले स्थानीयलाई सुरक्षित दूरी कायम गर्न र सर्पलाई जङ्गलतर्फ जान दिन आग्रह गर्नुभयो। तर सर्प बस्ती आसपासमै रहेपछि उद्धारका लागि पटकपटक आग्रह आयो।
जेठमा किङ कोब्राको डसाइ खेपेका राजेश यसपटक पनि पछि हट्नुभएन। छोरा रोशनलाई साथमा लिएर उहाँ फेरि किङ कोब्रा उद्धार गर्न निस्कनुभयो।
डिभिजन वन कार्यालय मकवानपुर र सब–डिभिजन वन कार्यालय हात्तीसुँडेसँग समन्वय गरेर बाबुछोरा देउराली चिसापानी पुग्नुभयो। बस्ती नजिकै रहेको करिब साढे सात फिट लामो अनुमान गरिएको किङ कोब्रालाई दुवैले सुरक्षित उद्धार गरे।
“फेरि किङ कोब्रा आएको खबर सुन्दा मलाई डरभन्दा खुसी लाग्यो,” राजेशले भन्नुभयो, “त्यो घटनाबाट बाँचेर आएपछि फेरि किङ कोब्रा बचाउने अवसर मिल्यो भन्ने लाग्यो।”
उहाँका अनुसार यो उहाँले उद्धार गरेको १५औँ किङ कोब्रा हो। १४औँ किङ कोब्रा उद्धार गर्ने क्रममा आफैँ डसिएपछि त्यसको उद्धार भने छोरा रोशनले पूरा गरेका थिए।
राजेशको सर्प उद्धार यात्रा करिब चार वर्षअघि सुरु भएको हो। पेसाले पत्रकार रहेका उहाँ सर्प उद्धारकर्ता बन्ने योजनासहित यस क्षेत्रमा आउनुभएको थिएन। सर्पसम्बन्धी अध्ययन र सचेतनामूलक सामग्री तयार गर्ने क्रममा चासो बढ्दै गएपछि उहाँले यसबारे थप अध्ययन गर्न थाल्नुभयो।
सर्पसम्बन्धी अध्येता तथा जानकारसँगको सिकाइ र आफ्नै अध्ययनपछि उहाँ सर्प उद्धारमा जोडिनुभयो। त्यसक्रममा छोरा रोशन पनि बुबासँगै यस काममा जोडिए।
सुरुमा सर्पसम्बन्धी सचेतनामूलक सामग्री बनाउने बाबुछोरालाई घरमा सर्प देखिएपछि स्थानीयले सहयोगका लागि फोन गर्न थाले। अहिले उनीहरू मकवानपुरसँगै बारा र पर्साका विभिन्न स्थानमा समेत सर्प उद्धारका लागि पुग्ने गरेका छन्।
राजेशका अनुसार चार वर्षको अवधिमा उहाँले विषालु र अविषालु गरी एक हजारभन्दा बढी सर्प उद्धार गरिसक्नुभएको छ। उद्धार गरिएका सर्पलाई सम्बन्धित वन निकायसँग समन्वय गरी मानव बस्तीबाट टाढा उपयुक्त प्राकृतिक क्षेत्रमा छाड्ने गरिएको उहाँ बताउनुहुन्छ।
सर्प उद्धारका लागि आफूले कुनै सरकारी वा निजी संस्थाबाट नियमित तलब वा भत्ता नलिएको राजेशको भनाइ छ।
