काठमाडौँ । बाबर हायतको उत्कृष्ट शतकीय पारिको मद्दतले एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा हङकङले नेपालसामु जितका लागि २६२ रनको प्रतिस्पर्धी लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियास्थित बायोमास ओभल मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल खडा गर्यो।
हङकङको इनिङ्स सम्हाल्ने क्रममा बाबर हायतले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतले अविजित ११७ रनको शतकीय योगदान दिए। एक समय संकटमा परेको हङकङलाई उकास्न हायत र एहसान खानले आठौँ विकेटका लागि अविजित १२८ रनको महत्त्वपूर्ण साझेदारी गरे। एहसान खान ३५ रनमा अविजित रहे।
यसैगरी टोलीका लागि शाहिद वासिफले ४५, जिशन अलीले १५ र अन्शुमन रथले १३ रनको योगदान दिए।
नेपालका तर्फबाट बलिङ गर्दै कप्तान सन्दीप लामिछानेले ४ विकेट र शेर मल्लले ३ विकेट हात पारे। नेपालले केही बेरमा २६२ रनको पछ्याउने क्रममा जवाफी ब्याटिङ सुरु गर्दैछ।
