विराटनगर । सशस्त्र प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१६ स्थित दरैयाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक थान सवारी साधन नियन्त्रणमा लिएको छ।
गएराति (भाद्र १६ गते) करिब ११:०० बजे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. दरैयाबाट खटिएको टोलीले कोलर चोकमा शंकास्पद अवस्थामा रहेको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो। प्रहरी टोलीलाई देख्नासाथ ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको उक्त भ्यानका चालक गाडी छाडेर फरार भएका थिए।
चालक भागेपछि भ्यानको तलासी लिँदा दुई वटा बोरामा लोड गरी ल्याइएको अनुमानित ६० किलोग्राम लागूऔषध गाँजा बरामद भएको हो।
उक्त भ्यान र बरामद गाँजालाई हाल बि.ओ.पि. दरैयामा राखिएको छ भने आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको छ।
