Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा अपराध: पहिले श्रीमती हत्या गरे, त्यसपछि हराएको भन्दै प्रहरीमा निवेदन

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान ७:४५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा एक साताअघि भएको एक जघन्य हत्याकाण्डको रहस्य खुलेको छ। आफ्नै श्रीमतीको हत्या गरी शव लुकाउने प्रयास गर्ने एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलनमार्फत विराटनगर महानगरपालिका–१५, हर्ताली हाट निवासी ३२ वर्षीया कोमल कुमारी साहको हत्या प्रकरणमा उनका श्रीमान् रोशन साह र जेठाजु दिपेन्द्र साहको संलग्नता पुष्टि भएको जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार मुख्य योजनाकार ३२ वर्षीय रोशन साह हुन् भने शव व्यवस्थापनमा उनका दाजु ४६ वर्षीय दिपेन्द्र साहले सहयोग गरेका थिए। दुवैलाई नियन्त्रणमा लिइएको छ। घटना चैत ६ गते मध्यरातमा भएको हो।

प्रारम्भिक अनुसन्धानबाट रोशनले घरभित्रै श्रीमतीको सारी र गलबन्दी प्रयोग गरी घाँटी कसेर हत्या गरेको खुलेको छ। त्यसपछि उनले दाजुसँग मिलेर शव लुकाउने योजना बनाएका थिए। उनीहरूले शवको हातखुट्टा बाँधेर तन्नामा पोको पार्दै सिटी सफारीमा राखी घरबाट करिब ४ किलोमिटर टाढा विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकको कल्भर्टमुनि रहेको पानी जमेको नालीमा फालेका थिए।

घटनापछि शंका नहोस् भन्ने उद्देश्यले रोशनले चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा श्रीमती हराएको भन्दै निवेदन दिएका थिए। उनले माइती पक्षसँग सम्पर्कमा रही खोजी भइरहेको नाटकसमेत गरेका थिए।

तर चैत १० गते स्थानीयले कल्भर्टमुनि शंकास्पद पोको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले तन्ना खोल्दा सडेको अवस्थामा महिलाको शव फेला पारेको थियो।

मृतकको पहिचान माइती पक्षले चुरा, औँठी र हरियो सारीका आधारमा गरेका थिए। प्रहरीका अनुसार दाम्पत्य सम्बन्धमा अविश्वास र पारिवारिक शंका नै हत्याको मुख्य कारण देखिएको छ।

प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार घटनास्थलबाट संकलित प्रमाण, शवको अवस्था तथा हराएको निवेदनको विश्लेषणपछि अनुसन्धानको केन्द्र श्रीमान्तर्फ केन्द्रित भएको थियो। सोधपुछका क्रममा रोशनले अपराध स्वीकार गरेका छन्।

प्रहरीका अनुसार सीसीटीभी नभएको बाटो रोज्नु र दुर्गन्धित स्थानमा शव फाल्नुले हत्या पूर्वनियोजित रहेको संकेत गर्दछ।

हाल दुवै अभियुक्तलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा प्रयोग भएको सवारी साधनसहित अन्य प्रमाण पनि संकलन गरिसकेको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka