काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजहरूको त्याग र बलिदानबाट प्रेरणा लिएर अघि बढ्न आग्रह गर्नुभएको छ।
एमाले झापा आज बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थका लागि नभई देशमा परिवर्तन ल्याउने उद्देश्यले राजनीतिक आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो।
“हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ,” उहाँले भन्नुभयो, “देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ।”
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ८० वर्ष तथा एमाले स्थापना भएको ७७ वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न कठिन परिस्थितिमा पार्टीलाई पुनःगठन गर्दै आन्दोलनलाई निरन्तरता दिइएको बताउनुभयो।
उहाँले विसं २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव तथा जेल जीवनका कठिन दिन स्मरण गर्दै विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर पार्ने प्रयास भइरहेका बेला सिद्धान्त र निष्ठाकै बलमा पार्टीलाई बलियो बनाइएको दाबी गर्नुभयो।
अध्यक्ष ओलीले एमालेले पार्टीलाई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा समेत मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीका वास्तविक सदस्यको मात्र सदस्यता नवीकरण गर्नुपर्ने र गैरसदस्यको नवीकरण रोक्नुपर्ने बताउनुभयो।
पद प्राप्तिको दौडमा लाग्नुभन्दा देश र जनताका लागि त्याग तथा बलिदान गर्न तयार हुनु नै एमाले कार्यकर्ताको वास्तविक पहिचान भएको उहाँको भनाइ थियो।
कार्यक्रममा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायत पार्टीका शीर्ष नेताहरूले समेत आफ्नो धारणा राख्नुभएको थियो।
