Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोशी अस्पतालका भवन निर्माणमा ढिलाइ, सेवाग्राहीलाई सास्ती

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २५, २०८३  | साँझ ५:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ हुँदा उपचारका लागि आउने सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । भवन निर्माण समयमै सम्पन्न नहुँदा सीमित पूर्वाधारबाट अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था छ ।

विराटनगरको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा पुरानो भवनबाट बिरामीलाई उपचार सेवा दिन कठिनाइ भइरहेको अस्पताल प्रशासनले जनाएको छ । ३५० शय्या क्षमताको अस्पताल भए पनि ठाउँको अभावमा हाल ३०० शय्याबाट मात्रै सेवा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा चन्द्रभाल झाले बताए ।

बिज्ञापन

अस्पतालको ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीको चापअनुसार आवश्यक पूर्वाधार र स्थानको अभाव हुँदा उपचार सेवा व्यवस्थापनमा समस्या भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पताल परिसरमा दुई वटा नयाँ भवन निर्माणाधीन छन् । दुवै भवन निर्माण सम्पन्न भएपछि अस्पतालको कुल शय्या क्षमता ७५० पुग्नेछ । यसपछि बिरामीलाई आवश्यक उपचार तथा अन्य सेवा उपलब्ध गराउन सहज हुने डा झाले बताए ।

निर्माणाधीन दुई भवनमध्ये पहिलो भवन करिब सात हजार वर्गमिटर क्षेत्रफलमा एक बेसमेन्टसहित पाँच तले रहेको छ । दोस्रो भवन दुई बेसमेन्टसहित १० तले र ३३ हजार ७१० वर्गमिटर क्षेत्रफलको छ ।

पहिलो भवन निर्माणका लागि २०७८ असार ३० गते भूमि निर्माण कन्स्ट्रक्सनसँग रु ३८ करोड ८७ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माणमा ढिलाइ भएको हो । त्यसपछि रमन कन्स्ट्रक्सनले निर्माणको काम अघि बढाएको छ ।

सम्झौताअनुसार पहिलो भवन २०८३ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीले समयमै काम पूरा नगरेपछि निर्धारित समयभित्र भवन निर्माण सम्पन्न हुन सकेन । हाल उक्त भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत रहेको डा झाले बताए ।

दोस्रो भवन निर्माणका लागि २०७९ असार १३ गते सम्झौता भएको थियो । रु दुई अर्ब १७ करोड लागतमा केसी कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त भवन २०८४ असार १२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल भवनको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत पुगेको छ ।

दुवै भवन निर्माण सम्पन्न भएपछि कोशी अस्पतालको शय्या क्षमता ७५० पुग्नेछ । पूर्वाधार विस्तार भएपछि बिरामीको चाप व्यवस्थापन तथा उपचार सेवा प्रवाहमा सहजता हुने अस्पताल प्रशासनले जनाएको छ ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa