काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति प्रतिनिधिसभामा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले गृहमन्त्रीले घटनाको प्रभावकारी व्यवस्थापन गर्नुको सट्टा प्रचारमुखी गतिविधिमा लागेको आरोप लगाए।
“गृहमन्त्री, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर? हिजो फिल्मको नायकझैँ क्यामेरा बोकेका मिडियाको घेरामा कहिले एयरपोर्ट, कहिले यता–उता दौडिरहनुभएको थियो। यदि वास्तविक उद्देश्य उपचारको व्यवस्था गर्नु थियो भने आज गणेश नेपालीको मृत्यु हुने अवस्था आउने थिएन,” शाहीले भने।
उनले गृहमन्त्रीको प्राथमिकता प्रचार होइन, नागरिकको जीवन रक्षा हुनुपर्ने बताए। “गृहमन्त्रीको आदेशले जनता बाँच्यो कि बाँचेन, त्यो मुख्य कुरा हो,” भन्दै उनले मन्त्रीहरूलाई सडकमा ‘चटक’ देखाउनेभन्दा जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।
“गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर होइन, देशको वास्तविक गृहमन्त्रीका रूपमा भूमिका निर्वाह गर्न आग्रह गर्दछु,” उनले भने।
शाहीले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई घटनाकै दिन तत्काल भारतको दिल्ली पठाएर उपचार गराइएको भए उनको ज्यान जोगिन सक्ने दाबी पनि गरे।


