काठमाडौं । आइतबार देशका अधिकांश क्षेत्रमा मौसम सामान्य रहने भए पनि कोशी प्रदेशसहित केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत देशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशका केही स्थानमा तथा हिमाली र पहाडी भू-भागका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।
कोशी प्रदेशका थोरै स्थानमा राति पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
