






काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २६.२२ अंकले घटेर २ हजार ७९६.२४ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘ बजार ३ हजारको विन्दुमा टिक्न नसकेपछि यतिबेला बिक्री दबाब आएको छ । यसले अझै केही समय निरन्तरता लिनसक्छ । कारोबार बिस्तारै ड्राई हुँदै गएका कारण २७५० आसपासबाट बजार फर्किन सक्छ ।’
अर्का बजार जानकार यज्ञ घिमिरेले नाफा बुक गरेका लगानीकर्ता बजार निपस्दा बजार घटेको बताए । ‘अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । बजार अझै घट्छ भन्ने मनोविज्ञान लगानीकर्ताको देखिन्छ । यस्तै ठूला लगानीकर्ताले समेत सेयर बिक्री गरेका कारण बजारमा दबाब आएको छ,’ उनले भने ।
उनले सधैं बजार घटेको घट्यै भने नगर्ने समेत बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह मात्रै बढ्यो । यो समूह आज १.२४ प्रतिशतले बढ्यो ।
लघुवित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.९१ प्रतिशत, विकास बैंक ०.५८, फाइनान्स १.२५, हाईड्रो १.१७, लगानी ०.५८, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन १.०४, म्युचुअल फण्ड ०.०५, निर्जीवन बीमा ०.८५, अन्य ०.७६ र व्यापार समूह ०.३४ प्रतिशतले घट्यो ।