विराटनगर । डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई प्राथमिकतामा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ।
महानगरपालिकाको सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको प्राविधिक सहकार्यमा सञ्चालन भएको तालिममा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५५ जना युवालाई सहभागी गराइएको छ। तालिमका लागि आह्वान गरिएको अनलाइन आवेदनमा ५४३ जनाले आवेदन दिएका थिए।
तालिममा साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई), परियोजना व्यवस्थापन, सञ्चार सीपलगायत आधुनिक सूचना प्रविधिसम्बन्धी विभिन्न विषय समेटिएका छन्। सहभागीहरूलाई आधारभूतदेखि मध्यमस्तरसम्मका डिजिटल दक्षता विकाससम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने महानगरले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले डिजिटल अर्थतन्त्र तीव्र रूपमा विस्तार भइरहेका बेला युवालाई प्रविधिमैत्री र दक्ष बनाउनु समयको आवश्यकता भएको बताए। उनले कार्यक्रमलाई प्रारम्भिक ‘पाइलट परियोजना’का रूपमा अघि बढाइएको उल्लेख गर्दै यसको प्रभावकारिता मूल्याङ्कनपछि थप व्यापक रूपमा विस्तार गरिने जानकारी दिए।
“सूचना प्रविधि अब विकल्प होइन, आवश्यकता बनिसकेको छ। युवालाई सीपयुक्त बनाएर अवसरसँग जोड्नु महानगरको प्रमुख प्राथमिकता हो,” मेयर कोइरालाले भने।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले सूचना प्रविधि क्षेत्रको बढ्दो मागलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमले युवालाई प्रतिस्पर्धी र रोजगारमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
जेनेस सोलुसनका कार्यकारी परामर्शदाता भीमप्रसाद ढकालले डिजिटल रूपान्तरण अभियानलाई सफल बनाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहमा दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
महानगरकी आईटी इन्जिनियर अर्चना कर्णले तालिममार्फत युवा तथा विद्यार्थीलाई व्यवहारिक सूचना प्रविधि सीप, व्यावसायिक दक्षता र आधुनिक प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्ने लक्ष्य रहेको बताइन्। उनले उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई उन्नत तालिम, इन्टर्नशिप तथा सम्भावित रोजगारीका अवसरसँग जोड्ने योजना समेत रहेको जानकारी दिइन्।
महानगरपालिकाले कार्यक्रमलाई स्थानीय तहको डिजिटल रूपान्तरण अभियानसँग जोड्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरेको छ। साथै, यसले विराटनगरलाई प्रविधिमैत्री सहरका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
