विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग प्रति आक्रोस पोखेका छन् । उनले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति पनि जनाएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एमालेको कार्यक्रममा ओलीले भएको घर जलाएर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्रोश पोखे । उनले भने,‘‘भएको घर जलाए, अहिले खरानी छ छानबिन गर्ने अरे ।’’
सम्पत्ति छानबिन आयोग नै संवैधानिक भएको उनको भनाइ छ । आफू र कांग्रेस नेता रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको ओलीले आरोप लगाए ।
ओलीले यस्ता आयोगलाई आफूले कुनै पनि मान्यता, बयान र सम्पत्ति विवरण पनि नदिने बताए ।
उनले भने,‘‘सम्पत्ति छानबिन आयोग संवैधानिक होइन, ज्ञानेन्द्र शाहले विरोधीलाई फसाउन आयोग बनाएका थिए त्यस्तै हो यो पनि । केपी ओली र रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको हो ।’’ ओलीले यस्ता आयोगलाई मान्यता नदिने र सम्पत्ति विवरण पनि नपठाउने जिकिर गरे ।
“आफ्नो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? सम्पत्ति विवरण फेरि किन चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण? खरानी बाँकी रहेको र त्यो सरकारले उठाएर लैजाँदा हुने” उनले बताए ।
