काठमाडौं । अमेरिकी सेनाले इरानको क्युसिम टापुमा लक्षित सैन्य आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानबाट कुवेत, बहराइन तथा गैरसैनिक जहाजहरूलाई लक्षित गर्दै गरिएको मिसाइल र ड्रोन आक्रमणको प्रयासपछि आत्मरक्षाका लागि उक्त कदम चालिएको हो।
सेन्टकमले इरानले प्रहार गरेका कैयौँ मिसाइल र ड्रोनहरूलाई अमेरिकी तथा साझेदार सेनाले निष्क्रिय पारेको दाबी गरेको छ। मंगलबार गरिएको प्रतिआक्रमण इरानको आक्रमण प्रयासको जवाफस्वरूप भएको अमेरिकी पक्षको भनाइ छ।
सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्तिमा कुनै पनि अमेरिकी सैनिक वा अधिकारीलाई क्षति नपुगेको उल्लेख गर्दै क्षेत्रीय सुरक्षाका लागि आफ्ना फौजहरू पूर्ण रूपमा सतर्क रहेको जनाएको छ। विज्ञप्तिमा युद्धविरामको अवस्थालाई कमजोर बनाउने कुनै पनि आक्रामक गतिविधिविरुद्ध आवश्यक कदम चाल्न तयार रहेको पनि उल्लेख गरिएको छ।
यसअघि इरानी सञ्चारमाध्यमहरूले क्युसिम टापु आसपास विस्फोटका आवाजहरू सुनिएको समाचार प्रकाशित गरेका थिए।
अमेरिकाले गत साता इरानका केही सैन्य संरचनामाथि आक्रमण गरेको बताएको थियो। त्यसको प्रतिक्रियास्वरूप इरानले अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ। स्ट्रेट अफ हर्मुज आसपासको क्षेत्रमा एक साताभित्र भएको यो तेस्रो ठूलो सैन्य घटना हो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सेनाले प्रयोग गर्दै आएको एक हवाई अड्डालाई निशाना बनाएको दाबी गरेको छ। यता अमेरिकी सेन्ट्रल कमान्डले इरानले क्षेत्रीय मुलुकहरूतर्फ प्रहार गरेका ब्यालिस्टिक मिसाइलहरू लक्ष्यमा पुग्न नसकेको जनाएको छ।
बहराइनको गृह मन्त्रालयले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चेतावनी दिने साइरन बजाइएको जानकारी दिएको छ। पछिल्ला घटनाक्रमले खाडी क्षेत्रमा सुरक्षा चुनौती थप गम्भीर बनेको संकेत गरेका छन्।
