नोट: यो समाचार १ महिना अघिको हो
फायल फोटो
काठमाडौं । सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल वृद्धि गरेपछि नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार सुनमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत पुर्याइएको छ, जसका कारण बजारमा प्रतितोला करिब १५ हजार रुपैयाँसम्म मूल्य वृद्धि हुने अनुमान गरिएको छ।
सरकारले भारतको कर संरचनासँग तालमेल मिलाउने उद्देश्यले भन्सार दर बढाएको जनाएको छ। भारतले हाल सुन आयातमा १५ प्रतिशत भन्सार महसुल लागू गरेको छ भने खरिदमा ३ प्रतिशत जीएसटी पनि लिने व्यवस्था रहेको छ। त्यसैको प्रभावलाई ध्यानमा राख्दै नेपालले पनि भन्सार दर समायोजन गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने सुनमा लाग्दै आएको २ प्रतिशत विलासिता कर हटाउने निर्णय गरेका छन्। यो कर गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले लागू गरेका थिए। तर सुनचाँदी व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका थिए।
यसैबीच भारतले हिरा उद्योगलाई भने विशेष सहुलियत दिएको छ। कच्चा हिरा आयात गरेर प्रशोधन तथा निर्यात गर्ने उद्योगलाई निश्चित सीमा भित्र सहुलियतपूर्ण भन्सार सुविधा उपलब्ध गराइएको जनाइएको छ।
