विराटनगर । उद्योग संगठन मोरङ ले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्वअध्यक्ष सुशय प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विराट व्यापार संघ को नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
संगठनको सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै निजी क्षेत्रका संस्थाबीच सहकार्य र साझा मुद्दामा एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याइएको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठी ले निजी क्षेत्रका संस्थाहरूबीच समन्वय र सहकार्य अझ बलियो बनाउनुपर्ने बताए । उनले नयाँ नेतृत्वले व्यवसायिक हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले बजारमा देखिएका चुनौती, कर प्रणालीका जटिलता, सीमावर्ती व्यापारका समस्या, डिजिटल व्यापारको विस्तार तथा साना–मझौला व्यवसाय संरक्षणजस्ता विषय निजी क्षेत्रका साझा मुद्दा भएको उल्लेख गर्दै समाधानका लागि संस्थागत सहकार्य आवश्यक रहेको धारणा राखे ।
केन्द्रीय कार्यसमितिमा निर्वाचित सुशय प्याकुरेल ले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवाद, कर तथा श्रमसम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसँग सहजीकरण र व्यवसायीमैत्री कानुनी व्यवस्था निर्माणमा निजी क्षेत्रबीच साझा पहल आवश्यक रहेको बताए ।
त्यसैगरी राजेन्द्र राउत ले कोशी प्रदेशमा औद्योगिक तथा व्यावसायिक विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै लगानी आकर्षण, औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन तथा कृषिमा आधारित उद्योग विस्तार, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रबीच एकता आवश्यक रहेको बताए ।
प्रमोद कुमार अग्रवाल ले स्थानीय व्यवसायीको मनोबल उच्च राख्ने, बजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकतामा राखिने बताए । उनले कर सचेतना र उपभोक्तामैत्री बजार निर्माणमा संघले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना ले उद्योग संगठन मोरङ र अन्य संस्थाबीच विगतदेखि नै साझा मुद्दामा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा उद्योग, व्यापार, बजार व्यवस्थापन तथा व्यवसायिक अधिकार संरक्षणका विषयमा अझ परिणाममुखी सहकार्य हुने विश्वास व्यक्त गरे ।
