काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनऊ सुपर जायन्टसलाई ५० रनले पराजित गरेको छ ।
यो जितसँगै पन्जाबले प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ। पाँचौँ जित निकालेको पन्जाबले प्रतियोगितामा ११ अंक जोडेको छ । पन्जाबले ६ खेलमा पाँच जित निकाल्दै यो नतिजा आत्मसात् गरेको हो । टोलीको एक खेल भने रद्द भएको थियो ।
आइतबार पन्जाबले पाँचौँ जित निकाल्ने क्रममा २५५ रनको लक्ष्य पछाएको लखनऊनलाई निर्धारित २० ओभरमा २०० रनमै समेट्यो ।
लखनऊलाई सस्तैमा रोक्न पन्जाबका मार्को जानसेनले दुई विकेट लिए । अर्सदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार भस्यकले समान एक विकेट लिए ।
लखनऊका कप्तान ऋषभ पन्तले ४३ रन बनाउँदा एडम मार्क्रमले ४२ रन जोडे । ओपनर मिचेल मार्सले ४०, आयुष वोदानीले ३५ र मुकुल चौधरीले २१ रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको पन्जाबले लखनऊविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर २५४ रनको योगफल खडा गरेको थियो ।
पन्जाबका निम्ति ओपनर प्रियान्स आर्यले ९३ रनको अर्धशतकीय इनिङ खेले । आर्यले ३७ बलमा चार चौका र नौ छक्का प्रहार गरे। उनले दोस्रो विकेटका निम्ति कुपर कोनोलीसँग १८२ रनको साझेदारी गरेका थिए ।
कुपर कोनोलीले ८७ रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा आठ चौका र सात छक्का लगाए ।
मार्कस स्टोइनिसले २९, सशांक सिंहले १७ र नेहाल वाधेराले १३ रन बनाएका थिए ।
लखनऊका प्रिन्स यादव र मणिमरन सिद्धार्थले समान दुई विकेट लिए । मोहम्मद शामी र मोहसिन खानले समान एस विकेट लिए ।
पराजित लखनऊ भने चार अंकसहित आठौँ स्थानमा छ ।
