अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा मिसाइल र ड्रोनका अवशेष खस्दा ७ जना नेपाली घाइते भएका छन्।
अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गर्दै मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ।
शुक्रबार आबुधाबीको अज्बान क्षेत्रमा आएको मिसाइल र ड्रोनलाई त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरे पनि त्यसका अवशेष खस्दा १२ जना घाइते भएको गल्फ न्युजले जनाएको छ।
घाइतेमध्ये ७ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका छन्। तीमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको युएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।
घाइतेहरूको पहिचान सार्वजनिक गरिएको छैन।
हवाई प्रतिरक्षा प्रणालीले आक्रमण निष्क्रिय पारेपछि मिसाइल र ड्रोनका टुक्रा विभिन्न स्थानमा खसेका थिए। घटनापछि उद्धार टोली तुरुन्तै परिचालन गरिएको थियो।
